सोल, २ चैत । उत्तर कोरियाले पुनः लामो दुरीको ‘ब्यालेस्टिक मिसाइल’   प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न लागेका बेला प्योङयाङले उक्त क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

गत आइतबारदेखि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपणको शृङ्खला जारीराखेको छ । पाँच दिनको अन्तरालमा आज गरिएको प्रक्षेपण तेस्रो हो ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ । “हाम्रो सेनाले प्योङयाङको सुनान क्षेत्र वरपरबाट प्रक्षेपण गरिएको एउटा लामो दुरीको ब्यालिस्टिक मिसाइल पत्ता लगाएको छ,” दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले एएफपीलाई भनेका छन् । उनका अनुसार आज प्रक्षेपण गरिइको क्षेप्यास्त्र इन्टर कन्टिनेन्टल ब्यालिेस्टिक मिसाइल हो । उक्त क्षेप्यास्त्रलाई उच्च गतिमा प्रक्षेपण गरिएको थियो ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा राष्ट्रपति युनले जापान र संयुक्त राज्य अमेरिकासँग त्रिपक्षीय सहयोग सुदृढ गर्न आह्वान गर्दै उत्तर कोरियाले विवेकहीन गतिविधिको मूल्य चुकाउनुपर्नेछ बताउनुभयो ।

जापानको मन्त्रिपरिषद् कार्यालयले उक्त क्षेप्यास्त्र छ हजार किलोमिटरभन्दा बढी उचाइमा पुगेको जनाएको छ । प्रधानमन्त्री फुमियो किशिदाले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वको अपरिहार्यतामा जोड दिँदै पछिल्लो घटनाक्रमबारे राष्ट्रिय सुरक्षा परिषद्का पदाधिकारीसँग परामर्श गर्ने बताउनुभएको छ । जापानमा कोरियाली नेताले लामो समयदेखिको दुई देशबीचको तनावपूर्ण कूटनीतिक सम्बन्ध सुधारको प्रयास गर्नुहुने बताइएको छ ।

पैतीस वर्ष लामो औपनिवेशिक शासनमा जापानी पक्षबाट भएका अत्याचारका कारण सोल र टोकियोबीचको सम्बन्ध सुमधुर हुन सकेको छैन । दक्षिण कोरिया र जापानले रक्षा खर्च र संयुक्त सैन्य अभ्यासलाई बढाइरहेका छन् । क्षेत्रीय एवम् विश्वव्यापी स्थायित्वका निम्ति रक्षा खर्च र सैन्य अभ्यास बढाउन आवश्यक भएको राष्ट्रपति युनले बताउनुभएको छ ।

जापान प्रस्थान गर्नुअघि कोरियाली राष्ट्रपतिले उत्तर कोरियालको आणविक एवम् क्षेप्यास्त्रको जोखिम बढिरहेका बेला कोरिया र जापानबीचको सहयोग बढाउनु समयको माग भएको पत्रकारहरूलाई बताउनुभएको थियो । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोध गर्दै छिमेकीहरूलाई चेतावनी दिन जापान शिखर सम्मेलनकै दिन पारेर क्षेप्यास्त्र प्रक्षेपण गरेको सुरक्षा विश्लेषकहरूले बताएका छन् । उत्तरले हतियार विकासको औचित्य प्रमाणित गर्ने बहाना खोजी रहेको उनीहरूको टिप्पणी छ । छोटो तथा लमो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको उनीहरूले बताएका छन् । उत्तर कोरियाले आज गरेको प्रक्षेपणबाट टोकियो, सोल र वासिङ्टनबीचको सहकार्य अझ सुदृढ हुने उनीहरूको तर्क छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले यो महिनाको प्रारम्भमा वास्तविक युद्धका लागि तयारी गर्न तथा सैन्य अभ्यास तीव्र तुल्याउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको थियो । प्योङयाङले अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासलाई आफूमाथिको आक्रमाणको पूर्वाभ्यासका रूपमा लिएको छ भने त्यसको प्रतिकार गर्ने चेतावनी बारम्बार दिँदै आएको छ ।  अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा केही दिन अघि पनि उत्तर कोरियाले पनडुब्बीबाट दुई वटा रणनीतिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो ।

उत्तर कोरियाले आफ्नो शक्तिशाली क्षेप्यास्त्र भने आजसम्म प्रक्षेपण गरेको छैन । आफूलाई अपरिवर्तनीय आणविक शक्ति घोषणा गरेको उसले क्षेप्यास्त्र परीक्षणलाई आफ्नो अधिकार एवम् प्राथमिकता भन्दै आएको छ ।रासस /एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर