काठमाडौँ, ४ फागुन । बलिवुडका चर्चित गायक तथा संगीतकार बप्पी लाहिरीको निधन भएको छ । । ६९ वर्षीय बप्पी लाहिरीको मंगलबार राति ११ बजे मुम्बईको क्रिटी केयर अस्पतालमा निधन भएको हो । लाहिरी बिरामी भएको धेरै समय भइसकेको थियो । गत वर्षको अप्रिलमा बप्पी दालाई पनि कोरना भाइरस भएको थियो ।
बप्पी लाहिरीले १९७०– ८० को दशकका फिल्महरूमा डिस्को थिमका धेरै चर्चित गीतहरू दिए। उनी ‘चलते चलते’, ‘डिस्को डान्सर’ र ‘शराबी’ जस्ता चलचित्रमा चर्चित गीत दिएर परिचित छन् । दाले सन् १९८५ मा फिल्म ‘नशा’ का लागि सर्वोत्कृष्ट संगीत निर्देशकका लागि फिल्मफेयर अवार्ड जितेका थिए । यसैगरी बलिउडमा उनको अन्तिम गीत २०२० मा आएको फिल्म’बागी’ ‘भान्का’ भएको बताइएको छ ।
बप्पी लाहिरीको जन्म २७ नोभेम्बर १९५२ मा पश्चिम बंगालको जलपाईगुडीमा भएको थियो, उनको नाम आलोकेश बप्पी लाहिरी थियो, उनको फिल्मको लागि उनले आफ्नो नाम बप्पी लाहिरी रोजेका थिए। लाहिरीका दुई सन्तान छन् ।
बाप्ती लाहिरी सुन लगाउन र सधै चस्मा लगाउन मन पराउँथे। आफ्नो घाँटीमा बाक्लो सुनको सिक्री र हातमा ठूलठूला औंठीहरू सहित धेरै सुनका गहनाहरू लगाउनु उनको चिनारी थियो। बप्पी लाहिरीलाई बलिवुडका पहिलो रक स्टार गायक पनि भनिन्छ।
