काठमाडौं, १ कात्तिक । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान कार्यक्रम यस वर्ष बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिका कारण देश शोकमा रहेकाले नगर्ने भएको पार्टीले जनाएको छ।
‘यो वर्ष देश शोकको सामना गरिरहेको स्थितिमा छ । भोटेकोशीमा आएको बाढीले हाम्रा १४ सय बढी आफन्तको मृत्यु र पाँच हजारभन्दा बढी बेपत्ता रहेको अवस्था छ भने बुढीगण्डकीमा आएको बाढीले थप जनधनको क्षति गरेको छ। यस्तो दुःखद घडीमा कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम यसपालि आयोजना नगरिने व्यहोरा अनुरोध गरिन्छ,’ पार्टीले विज्ञप्ति जारी गर्दै भनेको छ।
शोकको समयमा चाडपर्व शान्त र संयमित ढंगले परिवारमा सीमित रहेर मनाउन सभापति गगनकुमार थापाले आग्रह गर्नुभएको छ ।
कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले ०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि ०३४ सालको कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गर्नुभएको थियो । त्यसपछि नेपाली कांग्रेसले हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको थियो।
