काठमाडौँ, २३ पुस । सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जङ्गलमा दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमासङ्खुवासभा खाँदबारी नगरपालिका–७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षकनरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
कोसी लोकमार्गअन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२७प २१९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१०२००१ख ८१९६ नंको बसले ठक्कर दिँदा मोटसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । सवारीसाधन र बसचालक इटहरी–४ का ४४ वर्षीय टीकाराम चौधरी प्रहरीको नियन्त्रणमा छन् ।
ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
कैलालीमा गए राति ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ धनचौरीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्र्याक्टरले ठक्कर दिँदा पैदलयात्री कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ४० वर्षीय करन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका–६ जाली बस्ने ३६ वर्षीय वीरबहादुर चौधरीले चलाएको रा१त ४६५३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा पैदलयात्री भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताउनुभयो । ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
