काडमाण्डौं, २५ मंसिर । नेपाली कांग्रेसको सभापति ६ र उप सभापति पदमा ७ जनाले उम्मेदवारी दिएका छन् । काठमाण्डौंमा जारी चौधौं महाधिवेशनको आज दोस्रो दिन ती दुबै पदका लागि उनीहरूले उम्मेदवारी दिएका हुन् ।
सभापति पदको लागि उम्मेदवारी दिनेमा वर्तमान सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि, कल्याण गुरूङ र युवराज न्यौपाने हुनुहुन्छ।
यसमा देउवा दोस्रो कार्यकालको लागि सभापति पदमा उठ्दै हुनुहुन्छ भने अन्य पाँच जना सभापतिमा पहिलोपल्ट उठ्दै हुनुहुन्छ ।
उपसभापति पदका लागि उम्मेदवारी दिने ७ जनामा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का( देउवा समूह), चन्द्र भण्डारी, धनराज गुरूङ(पौडेल समूहको शेखर कोइराला प्यानल), सुजाता कोइराला ( सिंह प्यानल), महेश आचार्य, र दिव्यश्वेरी शाह हुनुहुन्छ ।
कांग्रेसको सभापति लगायत पदाधिकारी र सदस्यहरूको लागि २७ गते सोमबार मतदान हुँदैछ । यो अधिवेशनमा भाग लिने प्रतिनिधिको संख्या ४ हजार ७ सय ४३ छ । महाधिवेशनका यिनै प्रतिनिधिले आगामी कार्यकालको लागि कांग्रेसको सभापति, उपसभापति लगायतका पदाधिकारी र केन्द्रिय सदस्य चुन्ने छन् ।
कांग्रेको विधान अनुसार सभापति निर्वाचित हुन ५० प्रतिशत मत कटाउनु पर्छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाए धेरै मत ल्याउने पहिलो र दोस्रो उम्मेदवारबीच पुन मतदान हुन्छ ।
