काठमाण्डौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज शुक्रबार मध्यान्हपछि सुरु भएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो २ . ४५ बजे काठमाडौंको भृकुटीमण्डपमा सजिएको मंचमा पानसमा बत्ती बलेर महाधिवेशनको उद्घाटन गर्नुभयो ।
त्यसअघि सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहित कांग्रेसका शीर्ष नेताहरूले अग्रज नेताको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो।
महाधिवेशनको उद्घाटन हुनुअघि विभिन्न समुदाय र जातजातीका तर्फबाट साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, नेकपा (माले)का महासचिव सिपी मैनालीसहितका नेताहरु सहभागी हुनुहुन्छ ।
महाधिवेशनमा करिव ४ हजार ७ सय प्रतिनिधिहरु सहभागी भएको जानकारी गराइएको छ ।
यो महाधिवेशनले आगामी ४ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।
पछिल्लो कार्यकालको लागि पनि वर्तमान सभापतिका लागि देउवाले उम्मेदवारी दिने निश्चत छ भने उता नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा. शेखर कोइराला तीन जनामध्ये कसको नाममा सहमति हुने हो अझै निश्चय छैन ।
प्रकाशमान र शेखर कोइरालालाई मनाएर पौडेललाई साझा उम्मेदवार बनाउने कोशिश भैरहेको छ । तर सिंह र कोइरालाले आफ्नो अडान छाड्नुभएको छैन ।
त्यस्तै विमलेन्द्र निधिले सभापतिको लागि उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ ।
अन्य पदाधिकारी र सदस्यमा उठ्ने घोषणा गरेकाहरूले महाधिवेशन स्थलमा वरपर प्रचार गरिरहेका छन् ।
कोरोनाको कारण कारण उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्तरूपमा आउने सहभागी मात्र उद्घाटनमा समारोहमा उपस्थित छन् ।
महाधिवेशनमा भाग लिन आएका कांग्रसका प्रतिनिधिहरूको बासको लागि सुन्धारा, ठमेल र पुतलीसडक आसपासका होटल तथा खानाको लागि भृकुटी मण्डपमै व्यवस्था गरिएको व्यस्थापन समितिले जनाएको छ ।
