काठमाडौँ, १२ मङ्सिर । नेपाली कांग्रेस तनहुँको सभापतिमा जितप्रकाश आले निर्वाचित हुनुभएको छ । आज सम्पन्न भएको मतपरिणामअनुसार आले १६८ बढी मत प्राप्त गरी कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो ।
सभापतिमा निर्वाचित आलेले ९५१ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी वैकुण्ठ न्यौपानेले ७८३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीमा एक सहसचिव बाहेक सबै पदाधिकारी आले प्यानलबाट निर्वाचित हुनुभएको छ ।
उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः ९०७ र ८७६ मत प्राप्त गर्नुभएको छ । सचिवमा लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी विजयी हुनुभएको छ । उहाँहरुले क्रमश ः १०२० र ८१२ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी मोहन गिरीले ८०७ र केशबहादुर सुनारले ७२७ मत प्राप्त गर्नुभएको छ ।
सहसचिवमा मिलन आले र परमेश्वर भट्टराई विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः ९२० र ८५९ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी धिरेश खनालले ७७४ र हुतमणि अधिकारीले ७७६ मत प्राप्त गर्नुभएको छ ।
कूल एक हजार ८१७ मतदातामध्ये शनिबार सम्पन्न मतदानमा एक हजार ७८३ मत खसेको थियो ।
नेपाली कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित
नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ ६६५ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारले ६५३ मत प्राप्त गर्नुभयो ।
शनिबार भएको १४ औँ जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने दुई नेताबीच आज पुनः मतदान भएको जिल्ला निर्वाचन अधिकृत सुरेश घिमिरेले राससलाई जानकारी दिनुभयो ।
उपसभापति, सचिव, सहसचिव, जिल्ला कार्यसमितिका सदस्यहरुको अहिले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा मतगणना जारी रहेको जानकारी पनि उहाँले दिनुभयो । कोषाध्यक्ष भने नवनिर्वाचित जिल्ला सभापतिले निर्वाचित जिल्ला कार्य समितिका सदस्यमध्येबाट मनोनयन गर्ने व्यवस्था कांग्रेसको विधानमा छ ।
–––
