काठमाण्डौं, १२ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको राजिनामा स्वीकृत गर्नुभएको छ ।
काँग्रेसको केन्द्रिय कार्यालयका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले आज आइतबार एक विज्ञप्ति जारी गरी यो जानकारी गराउनु भएको हो ।
विज्ञप्तिमा जनाइए अनुसार सभापति देउवाले सो समितिको रिक्त संयोजक पदमा समितिका वरिष्ठ सदस्य गोपालकृष्ण घिमिरेलाई मनोनयन गर्नुभएको छ ।
निवर्तमान संयोजक यादव वितेका तीन/चार दिनदेखि निर्वाचन समितिको कार्यालय सानेपामा जान छोड्नुभएको थियो ।
विज्ञप्तिमा यादवले स्वास्थ्यको कारण देखाई राजिनामा दिनुभएको जनाइएको छ । तर राजिनामा कहिले दिनुभएको थियो भन्ने चाहिं खुलाइएको छैन ।
सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा सम्पन्न काँग्रेसको स्थानीय अधिवेशनहरू विवादमा छन् । त्यस जिल्लामा वडादेखि जिल्लासम्मका अधिवेशन सकिए पनि त्यहाँ पौडेल पक्षले भाग लिएको छैन। त्यहाँ देउवाले पुराना काँग्रेसहरूको सदस्यता कटाएर आफ्ना नयाँ मान्छेलाई सदस्यता बाँडेको पौडेल पक्षको आरोप छ ।
तर पौडेल पक्षको कुरा देउवाले सुन्नु भएन । उहाँले एक पक्षीय रूपमा स्थानीय तहका सबै अधिवेशन गराउनु भयो ।
त्यसको विरोधमा डडेल्धुरा जिल्ला तत्कालिन सभापति कर्णबहादुर मल्ल र सो जिल्लाका नेका कार्यकर्ताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा छन्। उनीहरूको माग सदस्यता वितरण विवाद समाधान गरी तलदेखिका सबै अधिवेशन पुन गराउनु पर्ने छ।
संयोजक यादवले यसअघि डडेल्धुरा काँग्रेसमा सदस्यता वितरणमा देखिएको विवादकै बेला राजीनामा दिनु भएको थियो । त्यतिबेला उहाँको राजिनामा स्वीकृत भएको थिएन र काममा जन थाल्नुभएको थियो ।
विवाद चर्कँदै भएर अनशनसम्म पुगेको र निकासको लागि सभापति देउवाबाट पहल नभएकोले यदलले पुन राजिनामा दिनुभएको विश्वास गरिएको छ ।
