काठमाण्डौं, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजिनामाको माग गर्दै देशव्यापी रूपमा आन्दोलन गरिरहेका वकिलहरूको संस्था नेपाल बार एसोसिएसनको प्रतिनिधि मण्डलबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको सो वार्तामा प्रम देउवाले एक/दुई दिनमा यो समस्याको निकास गरिने बचन दिनुभएको छ ।
वकिलहरूको माग प्रधानन्यायाधीशले राजिनामा दिनु पर्ने वा नदिएमा उहाँलाई संसदबाट महाभियोग लगाएर हटाउनु पर्छ भन्ने छ ।
प्रतिनिधि मण्डलमा बारका पदाधिकारी र केही वरिष्ठ अधिवक्ता थिए । प्रधानमन्त्री देउवा र बारका प्रतिनिधिबीच करिब आधा घण्टा कुराकानी भएको थियो । कुराकानीको क्रममा बारले गत ६ गते सभामुख र राजनीतिक दलको संसदीय दलको कार्यालयमा बुझाएको ज्ञापनपत्र प्रधानमन्त्रीलाई पनि छ ।
प्रतिनिधि मण्डलमा बारका पदाधिकारीसँगै पूर्व सभामुख दमननाथ ढुंगाना, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्कालगायताका व्यक्तिको सहभागिता थियो ।
बारले हिजो बिहीबार पुतली सडकदेखि बालुवाटारसम्म प्रधानन्यायाधीशको राजिनामाको माग गर्दै जुलुस निकालेको थियो ।
बारको पूर्व निर्धारित कार्यक्रम अनुसार आज १० गते उपत्यकाका सबै बार इकाइका सदस्यहरू सर्वोच्च अदालत अगाडि भेला भएर प्रन्या बिरुद्ध धर्विना र विरोध कार्यक्रम सन्चालन गरिरहेका छन् ।
