काठमाण्डौं, ६ मंसिर । नेपाली काँग्रेसले १४ औँ महाधिवेशन अन्तर्गत आज सोमबार ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्दैछ । ती जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्न लागिएको काँग्रेसको केन्द्रिय निर्वाचन समितिले जनाएको छ ।
समितिका एक सदस्यका अनुसार १४ जिल्लाको अधिवेशन सम्पन्न यस अघि नै भइसकेको छ भने सर्लाही, सिन्धुपाल्चोक र रसुवामा क्रियाशील सदस्यता विवादको कारण अधिवेशन रोकिएको छ । त्यसैले आज ६० जिल्लामा संघीय निर्वाचन क्षेत्रको अधिवेशन हुन लागेको हो ।
ती विवादित जिल्लाको समस्या समाधानका गर्न काँग्रेसका महामन्त्री डा. शशांक कोइराला र सहमहामन्त्री डा. प्रकाशशरण महतबीच छलफल भैरहेको छ ।
आज हुने १४८ क्षेत्रको अधिवेशनबाट केन्द्रीय महाधिवेशनको लागि प्रतिनिधि पनि चयन गरिने छन् । एक क्षेत्रबाट कम्तिमा २५ जना प्रतिनिधि चयन गरिने काँग्रेसको विधानमा उल्लेख छ । पालिकाहरूको वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान गर्ने छन् ।
अल्पसंख्यक र अपांगता भएकालाई पनि समावेशी कोटामा राखिने भएकोले कतिपय निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधिको संख्य थप भएर २७ पनि हुनसक्छ ।यिनै महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रिय सभापति रोज्दछन् ।
कांग्रेसको पछिल्लो संशोधित अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन÷एक क्षेत्रमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर ६ गते अर्थात् आजका लागि निर्धारण गरिएको थियो । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन यही मङ्सिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने कार्यतालिका छ । कांग्रेसको १४आँै महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुनेछ ।
एकमात्र निर्वाचन क्षेत्र भएका अधिकांश १६ उच्च पहाडी तथा हिमाली जिल्लामा भने कांग्रेसले जिल्ला अधिवेशन नै सम्पन्न गरिसकेको समितिका तेजबहादुर रावलले जानकारी दिनुभयो । क्रियाशील सदस्यताको विवादका कारण ७७ जिल्लामध्ये सर्लाहीमा मात्र वडा अधिवेशन प्रारम्भ हुन बाँकी रहेको समितिले जनाएको छ ।
