काठमाण्डौं, ३ मंसिर । राष्ट्रिय सभामा रिक्त हुने सदस्यको निर्वाचन आगामी माघ १२ गते हुने भएको छ । हिजो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यो मिति निर्धारण गरेको हो ।
यसबारे स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले हामीलाई जानकारी दिनुभयो : मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गते राष्ट्रिय सभाको १९ सदस्य पदको लागि निर्वाचन गर्ने मिति तोक्ने निर्णय गरेको छ ।
आउँदो फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदैछ । पदावधि सकिने मध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुनुहुन्छ । एक जना मनोनितको पद छाडेर बाँकी १९ जनाको लागि निर्वाचन गरिनेछ ।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय सभाको सदस्यको पदावधि सकिनु ३५ दिन अघि नै नयाँ सदस्यको निर्वाचन गरिसक्नु पर्दछ ।
निर्वाचन आयोगले सरकारलाई माघको दोस्रो साताभित्र ती पदको लागि निर्वाचन गरिसक्नु पर्ने भनी प्रस्ताव गरेको थियो ।
सरकारले आयोगको प्रस्तावबमोजिम निर्वाचनको मिति तोक्ने निर्णय गरेर आयोगलाई यो जानकारी गराएको हो ।
