काठमाडौ, १८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) सम्झौता पास गर्छौं भनेर आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेरै दिएको खुलासा गर्नुभएको छ ।
प्रमं. देउवाले उक्त खुलासा आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुलाई वताउनुभएको हो ।
उहाँ जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन बेलायत जानुभएको र सोही अवसरमा उहाँसँग एमसीसीकी डेपुटी सीईओले स्कटल्याण्डमा भेट्नुभएको थियो ।
उहाँले डेपुटी सीईओले एमसीसी कहिलेसम्म पास हुन्छ भनेर चासो राखेको र आफूले त्यससम्बन्धमा सत्ता साझेदार दलहरुको बीचमा कुराकानी भइरहेको जानकारी गराएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो छिटै पत्रकार सम्मेलन गरेर, उ गरेर पास गराउने कुरा छ । प्रचण्डजी र मैले त यतिभित्र पास गराउँछौं भनेर हस्ताक्षर गरेरै पठाएका छौं ।
प्रमं.देउवाले एमसीसीकी डेपुटी सीईओले संसदको अधिवेशन किन अन्त्य गरेको जिज्ञासा राखेको वताउनुहुँदै त्यसले एमसीसी सम्झौता पारित गर्ने प्रक्रिया प्रभावित हुँदैन भन्ने उनको प्रश्नको जवाफमा आफूले, ‘केही अध्यादेश ल्याउनुपर्ने भएकाले रोकिएको हो । यसले असर पर्दैन भनेँ ।’भनेको वताउनुभयो ।
