चीन, १४ साउन । चीनले प्रमुख उद्योगपतिहरूलाई दण्डित गर्ने पछिल्लो कदमअन्तर्गत हक्की स्वभावका एक प्रसिद्ध अर्बपतिलाई १८ वर्षका लागि जेलसजाय गरेको छ ।
सन दावूले उत्तरी हेबेई प्रान्तमा रहेको देशका सबैभन्दा ठूलामध्ये एक निजी कृषि व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।
सतसट्ठी वर्षीय सनले विगतमा मानव अधिकार तथा राजनीतिक रूपमा संवेदनशील विषयहरूका बारेमा बोल्नुभएको थियो ।
झैझगडा शुरू गरेको र समस्या निम्त्याएको आरोपमा उहाँलाई दोषी पाइएको छ । त्यो आरोप प्रायः अधिकारकर्मीहरूमाथि लगाउने गरिएको छ ।
उहाँमाथि लगाइएका अन्य आरोपमा गैरकानूनी रूपमा खेत कब्जा गरेको, राज्यका निकायहरूमाथि आक्रमणका लागि भिड जम्मा पारेको र सरकारी मजदुरहरूको काममा अवरोध पुर्याएको लगायत छन् ।
उहाँलाई ३१ लाख १० हजार युआन जरिवाना पनि तिर्न लगाइएको छ ।
अर्बपति सनको कम्पनी चीनका ठूला कम्पनीमा पर्छ जुन कम्पनीले मासु प्रशोधनदेखि घरपालुवा जनावरका खाना उत्पादन र विद्यालय तथा अस्पताल क्षेत्रसम्ममा काम गर्छ ।
सरकारी स्वामित्वको एउटा फार्मसँग जग्गासम्बन्धी विवादलाई लिएर गत वर्ष नै २० जना आफन्त तथा व्यापार सहयोगीसहित सनलाई गिरफ्तार गरिएको बताइएको छ ।
समाचार संस्था एएफपीका अनुसार त्यतिबेला उहाँले प्रहरीबाट आफ्ना दर्जनौँ कामदार घाइते भएको बताउनुभएको थियो ।
चीनका केही प्रमुख राजनीतिक आलोचकहरूसँग सन नजिक रहेको र विगतमा उहाँले सरकारका ग्रामीण नीतिहरूको पनि आलोचना गर्नुभएको थियो ।
अफ्रिकन स्वाइन फ्लु फैलिएको घटनालाई ढाकछोप गरेकोमा चिनियाँ सरकारको आलोचना गर्ने थोरै व्यक्तिमा सन पनि पर्नुहुन्छ ।
सन् २०१९ मा चीनमा फैलिएको अफ्रिकन स्वाइन फ्लुबाट अर्बपति सनका पनि व्यवसाय प्रभावित भएको थियो र पछि त्यस देशको अधिकांश कृषि क्षेत्रमा व्यापक असर पुर्याएको थियो ।
गैरकानूनी रूपमा पैसा सङ्कलन गरेको आरोपमा सन् २००३ मा पनि उहाँलाई जेलसजाय सुनाइएको थियो ।
तर अधिकारकर्मी तथा नागरिकहरूले उहाँप्रति जनाएको व्यापक समर्थनपछि त्यो मुद्दा उल्टाइएको थियो ।
मुद्दाको पूर्वसुनुवाइका क्रममा उहाँले आफूविरुद्ध लगाइएका धेरै आरोपहरू अस्वीकार गरेको र आफूलाई कम्युनिस्ट पार्टीका एक राम्रा सदस्यका रूपमा चिनाएको बताइन्छ ।
चिनियाँ सरकारले देशका व्यापारी तथा उद्योगपतिमाथि कारबाही गर्दै आएको छ ।
नियमनसम्बन्धी विवादलाई लिएर अहिले अलीबाबा, डीडी र टेन्सेन्टसहित ठूला प्रविधि कम्पनीहरूमाथि अनुसन्धान भइरहेको छ । बीबीसी
