चीन, ९ साउन । हङकङस्थित चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाइएको जवाफ स्वरूप चीनले कैयौँ अमेरिकी नागरिक र संस्थाहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

उक्त सूचीमा पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रस पनि पर्नुभएको छ ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङको उक्त निर्णय सार्वजनिक भएको हो ।

हङकङमा गरिएका सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले त्यहाँस्थित चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको थियो।

वाशिङ्टनले आफ्नो व्यापारिक समुदायलाई हङकङमा काम गर्दा जोखिम बढिरहेको पनि चेतावनी दिएको छ ।

अघिल्लो वर्ष भएका विशाल लोकतन्त्र पक्षधर प्रदर्शनहरूपछि चीनले हङकङमा नयाँ सुरक्षा कानुन कार्यान्वयनमा ल्याएको थियो ।

त्यसले देशको विभाजन, देश द्रोह र विदेशी शक्तिहरूसँग गठ जोड गर्ने विरुद्ध आजीवन कारावास अधिकतम सजाय तोकेको छ ।

शुक्रवार चिनियाँ विदेश मन्त्रालयले हालै अमेरिकाले हङकङको व्यावसायिक वातावरण धमिल्याउने गरी औचित्यहीन प्रतिबन्ध घोषणा गरेको भन्दै त्यसले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको चरम उल्लङ्घन गरेको जनाएको छ।

उसले पूर्वमन्त्री रससहित अमेरिकाका सात नागरिक र निकायमाथि प्रतिबन्ध लगाइने पनि जानकारी दिएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको वाणिज्य मन्त्रीका हैसियतमा रसले पूर्व अनुमति नलिइ अमेरिकी फर्महरूसँग कारोबार गर्न पाउने चिनियाँ फर्महरूको सङ्ख्या विस्तार गर्नुभएको थियो ।

त्यसबाट ह्वावेई र जेडटीईजस्ता अग्रणी चिनियाँ प्रविधि कम्पनी प्रभावित भएका थिए ।

चीनको प्रतिबन्धमा पर्नेमा ह्युमन राइट्स वाचकी चीन निर्देशक सोफी रबिन्सन, यूएस चाइना इकोनोमिक एण्ड सेक्युरिटि रिभ्यू कमिसनका अध्यक्ष क्यारोलिन बार्थलमीउ र इन्टरन्याश्नल रिपब्लिकन इन्स्टिच्यूटका एडम किङ छन् ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले चीनले बदलामा चालेको कदमले अमेरिका विचलित नहुने बताउनुभयो ।

उहाँले यी कदमहरू बेइजिङले कसरी कुनै ओहदामा नरहेका नागरिक, कम्पनी र नागरिक समाजका संस्थाहरूलाई राजनीतिक सन्देश दिने उद्देश्यले दण्डित गर्छ त्यसको पछिल्ला प्रमाण हुन् भन्नुभयो ।

राष्ट्रपति ट्रम्पको कार्यकालमा बेइजिङ र वाशिङटनबीचको सम्बन्ध थप चिसिएको थियो ।

कोभिड१९ को उत्पत्ती, मानव अधिकार र साइबर सुरक्षा जस्ता विषयमा अझै पनि सो सम्बन्ध तिक्ततापूर्ण छ ।

यो सप्ताहान्त बिग्रँदो सम्बन्धलाई सम्बोधन गर्ने उपायबारे छलफल गर्न सेरमन चीन जाँदैहुनुुहुन्छ ।

राष्ट्रपति बाइडनले सत्ता सम्हाले यता बेइजिङ भ्रमण गर्ने उहाँ सबैभन्दा वरिष्ठ अधिकारी हुन् ।

चीनको प्रतिबन्ध सामना गर्ने ट्रम्प प्रशासनका पछिल्ला अधिकारी रस हुनुहुन्छ ।

गएको ज्यानुअरीमा चीनले पूर्व अमेरिकी विदेशमन्त्री माइको पोम्पेओ सहित २७ जना वरिष्ठ ट्रम्प अधिकारीहरूलाई प्रतिबन्ध लगाएको थियो ।

बाइडन प्रशासनले त्यसलाई अनुत्पादक र निन्दनीय भनेको थियो।बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर