काठमाण्डौ, ९ साउन । जापानको राजधानी टोक्योमा ३२औँ ओलिम्पिक्स एउटा भावपूर्ण समारोहकाबिच सुरु भएको घोषणा गरिएको छ ।

टोक्यो ओलिम्पिक रङ्गशालामा आयोजित समारोहमा जापानका सम्राट नारोहितोले ओलिम्पिक्सका खेलहरू सुरु भएको घोषणा गर्नुभएको हो ।

उहाँका हजुरबुवाले पनि सन् १९६४ मा टोक्यो ओलिम्पिक्सको त्यसैगरि उद्घाटन गर्नुभएको थियो ।

चारपटक टेनिस ग्र्यान्ड स्ल्याम जितेकी नाओमी ओसाकाले ओलिम्पिक मसाल बालेसँगै सबैभन्दा ठूलो खेल मेला औपचारिक रूपमा सुरु भएको छ ।
उक्त अवसरमा बोल्दै अन्तर्राष्ट्रिय ओलिम्पिक समितिका अध्यक्ष थोमस बाखले आज यो आशाको क्षण हो । हो, यो हामी सबैले कल्पना गरेभन्दा निकै भिन्न हो। तर पनि यो क्षणमा रमाउँ किनकि हामीहरू यहाँ एकसाथ भएका छौँः २०५ राष्ट्रिय ओलिम्पिक्स कमिटिहरू र आईओसी शरणार्थी ओलिम्पिक्स टोली एउटै छातामुनि ओलिम्पिक ग्राममा बसिरहेका छौँ भन्नुभयो ।

कोभिड१९ का पीडितहरूको सम्झनामा मौन धारण गरिएको थियो । मास्क लगाएका थोरै खेलाडीहरूले मार्चपास गरे ।

अनपेक्षित रूपमा तयारीको निम्ति एक वर्ष बढी समय पाएका ११ हजार ३०० खेलाडिहरू ओलिम्पिक्समा प्रतिस्पर्धा गर्दैछन् ।

ती खेलाडिहरू सहभागी खेल दुई हप्ताभन्दा बढीसमय सम्म चल्नेछ ।

त्यस्तै २४ अगस्टबाट अपाङ्गता भएका खेलाडीहरूको पाराओलिम्पिक्स सोही रङ्गशालामा सुरु हुनेछ ।

नेपालका तर्फबाट खेलमा सहभागी हुन जापान पुगेका पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले उद्घाटन समारोहमा संयुक्त रूपमा नेपालको झन्डा बोक्नेछन् ।

नेपालबाट चार खेलका पाँच खेलाडीसहित २६ सदस्यीय टोलीले विश्वको सबैभन्दा ठूलो खेल उत्सवमा सहभागिता जनाइरहेका छन् ।

ओलिम्पिक्समा ३३ खेल समावेश गरिएको छ, जसको लागि ३३९ इभेन्ट्सहरू विभिन्न ४२ खेल स्थलमा सञ्चालन हुनेछ।

नेपाली खेलाडीहरूको खेल उद्घाटनको भोलिपल्टबाट सुरु हुनेछ ।

शनिवा शुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् भने जुडोकी सोनिया भट्टले ४८ केजी मुनिको तौल समूहमा खेल्नेछिन् ।

भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना हुन् ।

त्यस्तै जुलाई २७ मा पौडीका एलेक्स शाहले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले सोही इभेन्ट्समा खेल्ने तालिका छ ।

जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनेछिन् ।

नेपालबाट १२ जना खेलाडीहरूले वाइल्ड कार्डका लागि प्रयास गरेकोमा दुई जनाले मात्र त्यो पाउन सफल भएका थिए ।

जापानमा कोभिड१९ को महामारी यथावत् रहेकोले ओलिम्पिक्स खेल पूर्ण रूपमा त्यसको छायामा सुरु हुनेछ ।

आयोजकले बनाएका योजनाहरूमा कटौती गरिरहेका छन् । उद्घाटन समारोहमा एक हजार दर्शकहरू मात्र उपस्थित हुनेछन् ।

त्यस्तै मार्च पासमा पनि खेलाडीको सङ्ख्या कटौती गरिएको बताइएको छ ।

अनि उद्घाटन समारोहको कार्यक्रमहरूमा व्यापक छाँटकाँट गर्दै सामान्य ढङ्गको समारोह गरिने भएको छ ।

टोक्यो २०२० का अध्यक्ष शेख हासिमोटोले टिकट किनिसकेका लाखौँ दर्शकहरूसँग माफी माग्नुभएको छ ।

कोरोनाभाइरस महामारीको सङ्ख्या बढिरहेकोले टोक्यो सहरमा गत ८ जुलाईबाट निषेधाज्ञा लगाइएको छ । त्यो २२ अगस्टसम्म कायम हुनेछ ।

हुन त जापानमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या धेरै छैन ।

जोन्स हप्किन्स विश्वविद्यालयको २३ जुलाईको तथ्याङ्क अनुसार जापानमा अहिलेसम्म ८ लाख ५३ हजार १३७मा कोरोनाभाइरस सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको सङ्ख्या १५ हजार ४६ छ ।

जापानको १२ करोड ६० लाख जनसङ्ख्या मध्ये ३५ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् भने २२ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेको छ ।

कोरोनाभाइरसका कारण बेलायत लगायत १५९ देशका मानिसलाई जापानमा आउन प्रतिबन्ध लगाइएको छ ।

खेलाडीहरूले हरेक दिन कोभिड परीक्षण गर्नुपर्नेछ ।

खेलाडीलाई उनीहरूको देशमा फैलिएको कोरोना महामारी अनुसार छुट्टाछुट्टै नियम लगाइएको छ ।

जस्तै नेपाललगायत दक्षिण एशियाली राष्ट्रलाई जापानले रेड जोनको सूचीमा राखेको छ ।

त्यसैले नेपालले जापान जानु १४ दिन अगाडिदेखि सहभागीहरूको ज्वरो नाप्नु पर्ने तथा सात दिन अगाडिदेखि पीसीआर रिपोर्ट पेस गर्नुपर्नेछ ।

सोही नियम अनुसार पीसीआर परीक्षण गर्दा एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना पोजेटिभ देखिएको थियो ।

यति धेरै सावधानी अपनाउँदा पनि जापान पुगेका खेलाडीहरूमा अहिलेसम्म ९० जनामा कोरोना पोजेटिभ देखिसकिएको छ । जसमा बेलायतका खेलाडी अम्बेर हिल पनि छन् ।बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर