काठमाडौं, २८ असार । भारतको उत्तर प्रदेशमा आइतवार भएको चट्याङबाट ४२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार भारी वर्षाको क्रममा फरक फरक स्थानमा चट्याङ परेबाट थप २३ जना घाइते भएका छन् भने २४९ पशुहरुको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये १३ जना प्रयागराजका व्यक्तिहरु छन् । चट्याङ लागेर मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । र प्रयागराजमा चट्याङको कारण मृत्यु भएका १३ जनाको परिवारलाई चाररचार लाख राहत उपलब्ध गराउने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घोषणा गर्नुभएको छ ।
प्रयागराजका साथै कानपुर देहातमा पनि पाँच जनाको मृत्यु भएको छ । फिरोजावादमा तीन, कौशांबीमा दुई र मिर्जापुरमा एकजनाको मृत्यु भएको छ ।
त्यस्तै राजस्थानमा पनि चट्याङको कारण केही मानिसहरुको मृत्यु भएको छ । राजस्थानको कोटा जिल्लामा चार र धौलापुरमा तीन बालबालिकाको मृत्यु भएको छ ।
राजस्थानको राजधानी सहर जयपुरका प्रहरी आयुक्त आनन्द श्रीवास्तवले भने, ‘स्थानीय मानिसहरुको सहयोगमा आमेर किला क्षेत्रमा चट्याङ लागेका करिब २९ जनालाई उपचारको लागि अस्पतालमा लगिएको थियो । उनीहरुमध्ये १६ जनाको मृत्यु भएको छ । एजेन्सी
