ब्राजिल,२० असार । ब्रजिलको सर्वोच्च अदालतले भारतबाट कोभ्याक्सिन खोपको खरिदमा भएको हुन सक्ने भ्रष्टाचारबारे छानबिन गर्न अनुमति दिएको छ।

शुक्रवार रात एक न्यायाधीशले उक्त प्रकरणमा राष्ट्रपति जाइर बोल्सोनारूको भूमिकाको अनुसन्धान गर्न गरिएको अनुरोधलाई मन्जुरी दिनुभएको हो ।

गोप्य सूचना बाहिर ल्याइदिएका स्वास्थ्य मन्त्रालयका एक अज्ञात कर्मचारीका कोभ्याक्सिन खरिदको विषयमा बढी मूल्य तिरेर वरिष्ठ अधिकारीहरूले घुस लिएको जानकारी पाए पनि राष्ट्रपति बोल्सोनारूले कारबाही नगरेको आरोप लगाएका छन्।

उनले वरिष्ठ अधिकारीले भारतमा बनेको खोपमा घुस लेनदेन हुन लागेको जानकारी राष्ट्रपतिलाई तीन महिनाअघि नै दिइएको दाबी गरेका छन्।

राष्ट्रपति बोल्सोनारूले यी आरोपहरू अस्वीकार गर्नुभएको छ । उहाँले महाभियोग प्रक्रिया अघि बढाउन विपक्षीहरूले आफूविरुद्ध जथाभाबी आरोप लगाइरहेको जना उनुभएको छ ।

सरकारविरुद्ध प्रदर्शन
यसैबीच राष्ट्रपति बोल्सोनारू र उहाँको सरकार कोरोनाभाइरसको महामारीलाई सम्बोधन गर्न चुकेको भन्दै ब्रजिलका सहरहरूमा प्रदर्शनहरू भइरहेका छन्।

दशौँ हजार मानिसहरू सहभागी भइरहेका ती प्रदर्शनमा खोप कार्यक्रमलाई गति दिन र समाजका अति विपन्न वर्गलाई आर्थिक सहयोग उपलब्ध गराउन भनिएको छ।

सा‌ओ पाउलो, रिओ द जेनेरो सहित लगभग एक सय सहरमा भएका प्रदर्शनमा राष्ट्रपति बोल्सोनारूविरूद्ध महाभियोगको प्रक्रिया थाल्न पनि माग गरिएको छ।

पछिल्ला प्रदर्शन स्वास्थ्य मन्त्रालयले दशौँ लाख खोप खरिद अघि बढाउँदा भ्रष्टाचार भएका आरोपहरू बाहिर आएपछि शुरू भएको हो।

राष्ट्रपति बोल्सोनारूले निरन्तर कोभिड १९ को सङ्क्रमणको गम्भीरतालाई कम आँकेको विवरणहरू आएका थिए

सङ्गठित रूपमा कोभिड प्रतिकार्य कार्यक्रम अघि नबढाएको एवम् खोप, लकडाउन र मास्क लगाउनुपर्ने जस्ता अत्यावश्यक सुरक्षा उपायहरूलाई खुकुलो बनाउने प्रयास गरेकाले उहाँको चर्को आलोचना भइरहेको छ।

स्वास्थ्य इन्स्टिच्युट फिओक्रुजले ब्रजिलको अवस्था चिन्ताजनक भन्दै त्यहाँ जम्मा ११ प्रतिशत वयस्कहरूले पूर्ण रूपमा खोप लगाएको जनाएको छ।

अघिल्लो महिनादेखि त्यहाँका कैयौँ सहरहरूमा रेस्टुराँ, बार र पसलहरू खुलेका थिए भने चोकहरूमा हिँड्दा धेरै मानिसहरूले मास्क लगाउने वा सामाजिक दूरी कायम गर्ने गरिरहेका छैनन्।

अघिल्लो महिना नै त्यहाँ कोभिड १९ का कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख नाघेको थियो । कोभिड १९ का कारण ज्यान गुमाएको उक्त सङ्ख्या अमेरिकापछि सबैभन्दा उच्च हो।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर