काठमाण्डौ , १६ असार । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढिरहँदा कैयौँ मानिसहरूको मृत्यु भएको छ। ब्रिटिश कोलम्बियास्थित प्रहरीले सोमवार यता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको जनाएको छ र त्यसमा ज्येष्ठ नागरिकहरू धेरै छन्।
उक्त क्षेत्रमा गर्मी बढ्दा त्यसले मानिसहरूको मृत्यु भएको बताइएको छ।ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम आइतवार ४६.६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको थियो।
यो साता अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थिएन।
बर्नेबीमा मात्रै प्रहरीले “एक्कासि मृत्यु” भएका २५ वटा घटनामा प्रतिक्रिया जनाएको बताएको छ र त्यसमा धेरैजसो निवृत्तिभरण पाइसकेका मानिसहरू छन्।
ग्लोब र मेल पत्रिकाले जनाए अनुसार ब्रिटिश कोलम्बियाका प्यारामेडिकहरूले आइतवार तापक्रम बढ्दा समस्या भएको भन्दै एकसयभन्दा बढी मानिसले फोन गरेर मद्दत मागेका बताएका थिए।
लीटनको सानो गाउँमा बस्ने मेघन फ्यान्डरिचले ती पत्रिकालाई जनाए अनुसार घरबाट बाहिर निस्किन “लगभग असम्भव” भनेको थियो।”सहनै नसक्ने भएको छ,” उनले भनिन्।
“हामी सकेसम्म घरभित्रै बस्ने प्रयास गरिरहेका छौँ। मलाई लाग्छ हामी गर्मीसँग अभ्यस्त छौं तर यो सुख्खा गर्मी हो। ३० भन्दा ४७ डिग्री सेल्सियस धेरै नै बढी हो।”
इन्भाइरोन्मेन्ट क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ। त्यसबाहेकका उत्तरपश्चिमी भूभागलाई पनि सूचना जारी गरिएको छ।
“हामी विश्वमा धेरै चिसो हुने र हिउँ पर्ने देशको सूचीमा दोस्रो स्थानमा पर्छौं,” इन्भाइरोन्मेन्ट क्यानडाका वरिष्ठ जलवायुविद् डेभिड फिलिप्सले भने।
“हामी चिसोबारे धेरैजसो कुरा गर्छौं तर गर्मी मौसमबारे त्यतिधेरै कुरा गर्दैनौं,” उनले भने।-श्रोत, बीबीसी
