रुस, १४ असार । मैले खोप लगाउन नचाहनुको कारण अति सामान्य छ, यसले मलाई राम्रो गर्ने कुरा देख्दिनँ, मस्को अस्पतालकी मुटुरोग विशेषज्ञ भिक्टोरिया (नाम परिवर्तन) भन्नुहुन्छ ।
रुसी खोपको प्रभावकारिताबारे उहाँलाई विश्वास छैन त्यसैले उहाँले खोप कार्यक्रमको पहिलो छ महिना बेवास्ता गर्नुभयो ।
तर हालै मस्कोका नगरप्रमुखले केही खास किसिमका सरकारी जागिरेहरूले अनिवार्य खोप लगाउनुपर्ने घोषणा गरेका छन् । चिकित्सकहरूलाई पनि उक्त नियम लागु हुन्छ ।
डा.भिक्टोरियाले यसबारे दुई दिनसम्म विचार गर्नुभयो अनि खोप नलगाई प्रमाणपत्र किन्ने निर्णय गर्नुभयो । उहाँले खोप लगाएको नक्कली प्रमाणपत्र किन्नुभयो ।
मस्कोभरि डेल्टा भेरिअन्ट देखा परेको र दैनिक वृद्धिदर बढिरहेकोबारे उहाँ चिन्तित भएपनि उहाँ खोपले गर्ने असरहरूबारे बढी चिन्तित हुनुहुन्छ ।
सामान्य रूपमा भिक्टोरिया खोपविरोधी हुनुहुन्न । उहाँ र उहाँका सन्तानले अन्य रोगविरुद्ध नियमित खोप लगाएका छन् ।
तर तीन वटै रुसी खोपले दर्ता प्रक्रियाका लागि हतार गरेको उहाँलाई लाग्छ ।
यद्यपि विदेशमा बनेका अन्य खोप पाए के गर्ने भन्ने प्रश्नमा पनि उहाँ लगाउनेबारे यकिन गर्न सक्नुहुन्न ।
अस्पताल व्यवस्थापनले सबै कर्मचारीले खोप लगाउनुपर्ने बताएपछि भिक्टोरियाले स्थानीय खोप क्लिनिकमा सम्पर्क गर्नुभयो ।
त्यहाँ करिब ७० डलर तिरेर स्पुत्निक खोपको एक मात्रा लगाएको पुष्टि गर्ने कागज बनाउनुभयो । त्यसको २४ घण्टामा सरकारी दर्ता वेबसाइटमा उहाँले खोप लगाएको पुष्टि भयो ।
अबको तीन सातामा उहाँले दोस्रो मात्रा पनि लगाएको भनेर वेबसाइटमा देखा पर्नेछ । उहाँले आफ्ना आधा सहकर्मी र साथी खोपप्रति यसै गरी अनिच्छुक रहेको बतानुभयो ।
केही अज्ञात कुराको डर हो, उहाँले भन्नुभयो सरकारप्रतिको हाम्रो अविश्वासले पनि यसमा भूमिका खेलेको छ ।
अधिकारीहरूले रुसको सबैभन्दा बढी प्रयोग भएको र पहिलो स्पुत्निक खोपले तीन वटा परीक्षण पार गरेको विषयलाई जोड दिन्छन् ।
रुसमा कोरोनाभाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढेको छ ।
उनीहरूले यो खोप अतिसुरक्षित रहेको र प्रभावकारिता पनि ९१ प्रतिशतभन्दा बढी रहेको दाबी गर्छन् ।
तर थुप्रै रुसीहरू त्यो विश्वास गर्दैनन् र केही त नक्कली प्रमाणपत्र किन्न खोजिरहेका छन् ।
यदि उनीहरूसँग भिक्टोरियाको जस्तै खोप लगाएको प्रमाणपत्र बनाउने क्लिनिकमा चिनजान छैन भने अनलाइन समाधान फेला पार्न सक्छन् ।
हालैका सातामा खोप प्रमाणपत्र किन्नेबारेका अनलाइन खोजी अकासिएका छन् ।
किरिल एउटा रेस्टुरेन्टमा काम गर्छन् । उनलाई उनका व्यवस्थापकले खोप लगाउन भन्नेछन् भनेर चिन्ता लागेको छ । तर उनी लगाउन चाहँदैनन् ।
म र मेरी श्रीमती बच्चा जन्माउन खोज्दैछौँ, उनले भने कसलाई थाहा छ र खोपका कस्ता असर हाम्रो शरीरमा पर्छन् ।
सेर्गेइ (नाम परिवर्तन) एक जना सम्पत्तिबारे काम गर्ने एजेन्ट हुन् ।
सिद्धान्ततः म खोपविरोधी होइन, म केवल रुसी खोप लगाउन चाहन्नँ । पश्चिमा देशमा बनेको खोप रुसमा प्रतिबन्धित भएकोले म जब सक्छु तब प्रमाणपत्र किन्नेछु ।
उनी र किरिल दुवै टेलिग्राम मेसेन्जरमा एउटा समूहसँग आबद्ध छन् जसले प्रमाणपत्र बिक्री गर्छ ।

सिभिल इन्जिनियर ओलेग (नाम परिवर्तन) र उनकी पत्नी शिक्षिका एलिना (नाम परिवर्तन) पनि अनिवार्य खोप लगाउनुपर्ने वर्गमा पर्नुहुन्छ ।उहाँहरूलाई यो नियम मानव अधिकार विरुद्ध भएको भन्ने लाग्छ । ओलेग स्पुत्निक खोपबारे विश्वास गर्नुहुन्न र वैज्ञानिकहरूलाई जे भन्न निर्देशन दियो उहाँहरूले त्यही भन्ने दाबी गर्नुहुन्छ ।
एलिना पनि आफू वैज्ञानिक प्रयोगका लागि नभएको बताउँनुहुन्छ ।
उहाँलाई गतवर्ष कोभिड भएको थियो र अहिलेसम्म सबै एन्टिबडी सकियो होला भनेर उहाँलाई चिन्ता लाग्छ । उहाँ पनि खोप नलगाई नक्कली प्रमाणपत्र बनाउने तयारीमा हुनुहुन्छ ।
सबैभन्दा सस्तो एउटा कागजमा दिने प्रमाणपत्रको पर्छ जुन काम नलाग्ने पनि हुन सक्छ किनभने मस्कोका अधिकारीहरूले हालसालै क्यूआर कोड भएकालाई मात्रै आधिकारिक प्रमाणका रूपमा लिने घोषणा गरेको छ ।
तर कागजको प्रमाणपत्र बेच्नेहरूले पनि थप शुल्कका लागि सरकारी अनलाइन प्रणालीमा रहेको दाबी गर्छन् ।
एक जना त्यस्तै विक्रेता रोमनले आफूले कागज प्रमाणपत्र मात्रै बेच्ने र त्यो डिजिटल प्रणालीमा नरहने स्वीकार गरेका छन् ।
रोमनले आफूले खोपको एक मात्रा लगाएको बताए ।
रुसमा नक्कली खोप प्रमाणपत्रको कालोबजारी मार्चमा बढ्न थालेको हो जब मानिसहरूले बिदामा विदेश घुम्न जाने विचार गरे र ती देशले खोप लगाएका मानिसलाई मात्रै आगमनको अनुमति दिने घोषणा गरे ।
तर जुन महिनामा नयाँ प्रतिबन्धहरू लगाइएपछि कालोबजारी धेरै फस्टाएको छ । केहीले घरमै पनि खोप लगाइरहेका छन् ।
साइबर सुरक्षा कम्पनी कासपियर्सकी ल्याबका दिमित्री गलोभले प्रमाणपत्रको प्रस्ताव गर्ने धेरै विज्ञापनहरू जाली व्यक्तिहरूले बनाएको र उनीहरूसँग सरकारी दर्ता प्रणालीको पहुँच नभएको बताउनुभयो ।
केही मानिसहरूले यी सेवाहरू बेचिरहेका हुन सक्छन् र केहीले सरकारी तथ्याङ्कमा नाम थप्न पनि सक्छन् तर यो परीक्षण गर्न निकै कठिन छ । यो अनलाइन बजार होइन । जहाँ प्रत्येक विक्रेताको नामविरुद्ध स्टारको सङ्ख्या जाँच गर्न सकियोस् । यी वास्तविक जाली हुन् जसले तपाईँको फाइदा लिन सक्छन्,ू गलोभ भन्नुहुन्छ ।
एक डाक्टर दिमित्रीले आफ्नो क्लिनिकका लागि भनेर स्पुत्निक खोप मगाउनुभयो । त्यही बेला उहाँले आफ्नो नाम पनि खोप लगाउने सूचीमा दर्ता गर्नुभयो तर खोप भने नलगाई फाल्नुभयो ।
त्यसको केही समयपछि उहाँकी आमाको कोभिडका कारण मृत्यु भयो । धेरै मानिसले उहाँले खोप लगाएकी थिइन् कि थिइनन् भनेर प्रश्न सोधे ।
आमालाई खोप लगाउन आश्वस्त नपारेको प्रति उनी दुखी भए, दिमित्रीका साथीले भने ।
उहाँ आफैँ पनि अब साँच्चै खोप लगाउन चाहनुहुन्छ । तर उहाँ सक्ननुहुन्न् किनभने उहाँको नाम सरकारी प्रणालीमा खोप लगाइसकेको व्यक्तिका रूपमा दर्ता भइसकेको छ । बीबीसी
