रसुवा, २४ भदौ । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ । हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने गरी उर्लेर आएको भीषण बाढीले रसुवा भोटेकोशी र त्रिशूली नदी किनारका सुन्दर बस्ती र भूगोललाई क्षणभरमै क्षतविच्छेद तुल्यायो ।
नेपाल–चीनबीच रहेको केरुङ अन्तरराष्ट्रिय नाकास्थित दुवै देशका महत्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारीको हताहत भयो भने दशकौँ लगाएर तयार गरिएका भौतिक पूर्वाधारसम्बन्धी संरचना पनि एकैसाथ ढले । नदी किनारका सुन्दर बस्तीहरू खण्डहरमा परिणत भए । ती ठाउँ सञ्चार र सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भए । त्यस बाढीमा परी हराइरहेकामध्ये एक हजार ३६७ जनाको शव प्राप्त भएको छ ।
