न्युयोर्क, २४ भदौ  । संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ । संयुक्त राष्ट्रसंघीय महासभाका नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा अधिवेशनको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष रहमानले संयुक्त राष्ट्रसंघका लागि आफूले महत्त्वपूर्ण र चुनौतीपूर्ण समयमा जिम्मेवारी सम्हालेको बताउनुभयो । संयुक्त राष्ट्रसंघ आफ्नो स्थापनाको नवौँ दशकमा प्रवेश गरिरहँदा विगतका उपलब्धिहरू महत्त्वपूर्ण भए पनि विश्वले गम्भीर चुनौतीहरूको सामना गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वले ठुलो मानवीय पीडा निम्त्याइरहेको छ भने विकासका उपलब्धिहरू कमजोर र अस्थिर छन् । जलवायु परिवर्तनका असरसमेत तीव्र रूपमा बढिरहेका छन् ।

रहमानले भन्नुभयो, “यी चुनौतीहरूले बहुपक्षीयताप्रतिको विश्वासमा ठुलो दबाब सिर्जना गरेका छन् ।” अन्तर्राष्ट्रिय संस्था र सामूहिक प्रयासप्रतिको विश्वासमा देखिएको कमीलाई संवाद, सहकार्य र प्रभावकारी काममार्फत सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।

रहमानले आफ्नो कार्यकालको मुख्य प्रतिबद्धता संयुक्त राष्ट्रसंघप्रति पुनः विश्वास निर्माण गर्नु रहेको बताउनुभयो । ८१औँ महासभाको मुख्य विषय “विश्वास पुनस्र्थापना, रूपान्तरण व्यवस्थापनः सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ” तय गरिएको छ ।

यस अधिवेशनमा मुख्यतः शान्ति तथा सुरक्षा सुदृढीकरण, दिगो विकासलाई तीव्रता, जलवायु परिवर्तनविरुद्धको कार्यलाई प्रभावकारी बनाउने, मानवअधिकारको प्रवर्द्धन, प्रविधिगत रूपान्तरणलाई जनमुखी बनाउने तथा बहुपक्षीयताप्रति विश्वास पुनःस्थापना गरी छ प्राथमिकतामा केन्द्रित भएर काम गरिनेछ ।

रहमानले सन् १९४५ को भन्दा आजको विश्व निकै फरक भएकाले संयुक्त राष्ट्रसंघले आफ्नो मूल मूल्य र बडापत्रप्रतिको प्रतिबद्धता कायम राख्दै संस्थागत सुधार र परिवर्तनअनुकूल विकास गर्नुपर्ने बताउनुभयो ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले वर्तमान अशान्तिपूर्ण विश्व परिस्थितिमा विश्वव्यापी समस्या समाधान गर्ने बहुपक्षीय प्रणालीको भूमिका झनै महत्त्वपूर्ण भएको बताउनुभयो ।

उहाँले द्वन्द्व, विभाजन र आणविक तनावको जोखिम, गरिबी तथा असमानता, बढ्दो जलवायु संकट, कृत्रिम बुद्धिमत्ताबाट सिर्जित अवसर तथा जोखिम र दिगो विकासका लक्ष्य हासिल गर्ने सुस्त प्रगतिलाई प्रमुख चुनौतीका रूपमा औँल्याउनुभयो ।

गुटेरेसका अनुसार विश्वमा विस्थापित मानिसहरूको संख्या उच्च स्तरमा पुगेको छ भने मानवीय पीडा बढ्दै गएको र सहायता तथा विकासका लागि उपलब्ध स्रोत घट्दै गएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय वित्तीय संरचनालगायत बहुपक्षीय संस्थाहरूले पनि वर्तमान चुनौती सामना गर्न कठिनाइ भोगिरहेका उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको बारम्बार उल्लंघन भइरहेको तथा भूराजनीतिक अविश्वासका कारण प्रभावकारी अन्तर्राष्ट्रिय समाधानमा अवरोध सिर्जना भएको गुटेरेसको भनाइ थियो ।

उहाँले अध्यक्ष रहमानको नेतृत्वमा महासभाले कूटनीति, संवाद र सहकार्यका माध्यमबाट विश्व राजनीतिमा कमजोर हुँदै गएको विश्वास र सद्भाव पुनर्निर्माण गर्ने आशा व्यक्त गर्नुभयो ।

गुटेरेसले “भविष्यका लागि सम्झौता” र “संयुक्त राष्ट्रसंघ–८० पहल” लाई संयुक्त राष्ट्रसंघको भविष्यका लागि सुधार तथा कार्ययोजनाको आधारका रूपमा प्रस्तुत गर्दै ८१औँ महासभाले ती प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

“अबको दिशा स्पष्ट छ । हामीले यस क्षणको सामना गर्दै संयुक्त राष्ट्रसंघको महान् उद्देश्यअनुरूप विश्वलाई आवश्यक समाधान प्रदान गर्न एकताका साथ अघि बढ्नुपर्छ,” गुटेरेसले भन्नुभयो ।  

प्रतिक्रिया

सम्बन्धित खवर