चितवन, २४ भदौ । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत थियो । भोटेकोशीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती ‘बुकिङ’ रद्द हुँदा होटल सुनसान छ ।
अध्यक्ष पाण्डे आफ्नो जस्तै अन्य होटलको पनि अवस्था उस्तै रहेको जानकारी दिनुहुन्छ । नेपालमा सीमित भूभागबाहेक अन्य क्षेत्रमा बाढीको कुनै प्रभाव छैन । कृष्णभिरको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक सडक सञ्चालनमा छन् । यद्यपि, पर्यटकहरूले धमाधम ‘बुकिङ’ रद्द गरिरहेका छन् । यस महिनाका बुकिङ सबै रद्द भएको उहाँ बताउनुभयो ।
