म्याग्दी, २४ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४ को बाँसबोट जोड्ने झोलुंगे पुल निर्माण भएको छ ।
संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौँले म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुंगे पुल निर्माण गरेको हो । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उक्त पुलबाट हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम, काफलडाडाका बासिन्दा लाभान्वित भएका जानकारी दिए ।
उनका अनुसार बाँसबोटका किसानले उत्पादन गरेको केरा बजारीकरणमा सहज भएको छ । पुल निर्माणका लागि २०८२ साल असारमा रामकृष्ण–सोमरस जेभी र डिभिजनबीच रु एक करोड ६४ लाख १५ हजार २५४ मा ठेक्का सम्झौता भएको थियो । यसै महिनामा पुल निर्माण सकिएपछि आवतजावतका लागि खुला गरिएको छ ।
अठार महिनाको ठेक्का अवधि रहेको थियो । निर्धारित समयभित्रै पुल सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि प्रविन सापकोटाले बताए। धवलागिरि गाउँपालिका–७ का राजकुमार कोइरालाले पुलले आवतजावतका लागि यात्राअवधि छोटिनुका साथै पर्यटकीयस्थलका रूपमा विकास हुने अपेक्षा गरिएको बताए । एक घण्टाको यात्राअवधि पाँच मिनेटमा छोटिएको उनले बताए।
धवलागिरि गाउँपालिकामा यसअघि गत वर्ष दुई वटा तीन सय मिटर भन्दा लामा झोलुंगे पुल निर्माण भएको थियो । धवलागिरी गाउँपालिका–६ घाइरीबोट र खाउरीबाङ जोड्ने मराङखोलामा तीन सय ६५ मिटर र वडा नं.–३ फलियागाँउ र दर जोड्ने दरखोला माथि तीन सय ६६ मिटर लामो झोलुंगे पुल निर्माण भएको थियो । यो सहित हाल म्याग्दीमा तीन सय मिटर भन्दा लामा झोलुंगे पुलको संख्या सात वटा पुगेको छ ।
रघुगंगा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा ३६५.८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने ३५० मिटर, बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर र अन्नपूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने ३४४ मिटर लामो पुल निर्माण भइसकेका छन् ।
