उत्तर कोरिया, ४ असार । उत्तर कोरियाका नेता किम जङ अनले आफ्नो देशले संयुक्त राज्य अमेरिकासँग वार्ता र मुठभेड दुवैका लागि तयारी गर्नुपर्ने टिप्पणी गर्नुभएको छ ।
उहाँले विशेषतः आफूहरू मुठभेडको अवस्थाका लागि पूर्ण रूपमा तयार भएर बस्नुपर्ने बताउनुभएको छ ।
उहाँले राष्ट्रपति जो बाइडनको प्रशासनबारे प्रत्यक्ष टिप्पणी गरेको यो पहिलो पटक हो ।
उत्तर कोरियाले यसअघि नयाँ अमेरिकी सरकारले कूटनीतिक संवाद गर्न खोजेको प्रयासलाई बेवास्ता गरेको थियो ।
सर्वोच्च नेता किमले प्योङ्याङमा देशका वरिष्ठ नेताहरूलाई सम्बोधन गर्दै वार्ता र भिडन्तका कुरा गर्नुभएको हो ।
सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय कमिटीको बैठक राजधानी प्योङ्याङमा यसै हप्ता आरम्भ भएको थियो ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएअनुसार किमले हाम्रो देशको स्वाभिमान र स्वतन्त्र विकासको हितको रक्षा गर्नका निमित्त विशेषगरी मुठभेडको अवस्थाका लागि पूर्ण तयारी हुनुपर्ने आवश्यकता रहेको बताउनु भएको थियो ।
किमको त्यस्तो टिप्पणी उहाँले देशले खाद्य अभावको समस्या बेहोरिरहेको भनेर औपचारिक रूपमा स्वीकार गरेको केही दिनपछि आएको छ ।
हाल उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति बाइडनको प्रशासनबीचको सम्बन्ध तनावपूर्ण देखिएको छ ।
राष्ट्रपतीय निर्वाचनअघि बाइडनले किमलाई ठग भन्नुभएको थियो ।
बाइडनको शपथ ग्रहण समारोहको केही दिनअघि मात्र उत्तर कोरियाले नयाँ क्षेप्यास्त्रसहित ठूलो स्तरको सैनिक परेड गरेर शक्ति प्रदर्शन गरेको थियो ।बीबीसी
