दमौली (तनहुँ), ५ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा जारी दोस्रो राष्ट्रिय कौराहा सम्मेलनले कौराहा घोषणापत्र जारी गर्ने भएको छ । मगर समुदायको मौलिक नृत्य कौरा संरक्षण र दस्तावेजीकरण गर्ने उद्देश्यसहित शुक्रबारदेखि सुरु भएको सम्मेलन आज कौराहा घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।

नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय समितिको आयोजना र नेपाल मगर सङ्घ तनहुँको सहआयोजनामा जारी सम्मेलनले कार्यदलविज्ञ समितिमार्फत कौराहा घोषणापत्र जारी गर्ने नेपाल मगर सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष नन्दु मगरले जानकारी दिनुभयो ।
कौराहा सम्मेलनका लागि यमबहादुर आलेको संयोजकत्वमा विज्ञ समिति गठन गरिएको छ । सम्मेलनमा २७ समूहको सहभागिता छ । प्रतिनिधिबीचमा भएको छलफल र निर्णयमार्फत कौराहाको दस्तावेजीकरण गरिने उहाँले बताउनुभयो ।

कौराहाले गुञ्जियो झापुटार

झापुटारमा शुक्रबारदेखि सुरु भएको दोस्रो राष्ट्रिय कौराहा सम्मेलन यसपटक फरक र मौलिक शैलीमा उद्घाटन गरिएको छ । औपचारिक भाषण र कार्यक्रमभन्दा अघि सहभागी युवायुवतीले सामूहिक रूपमा कौरा नाच प्रस्तुत गर्दै कार्यक्रमको सुरुआत गरेका हुन् ।

देशका विभिन्न जिल्लाबाट आएका २७ समूहका युवायुवतीहरू कार्यक्रममा सहभागी भएका छन् । उनीहरूले खैचडीको तालमा गीत गाउँदै र समूहगत प्रस्तुति दिँदै वातावरणलाई निकै उत्साहपूर्ण बनाएका थिए ।

विशेषगरी परम्परागत वेषभूषामा सजिएका युवतीले सामूहिक रूपमा प्रस्तुत गरेको कौरा नृत्यले कार्यक्रममा छुट्टै आकर्षण थपेको थियो । दर्शकले ताली बजाउँदै उनीहरूको प्रस्तुति उत्साहका साथ हेरेका थिए । कार्यक्रमस्थल दिनभर सांस्कृतिक माहोलले भरिएको थियो ।

कार्यक्रम संयोजक पदमबहादुर थापाले समयको परिवर्तनसँगै यस्ता मौलिक संस्कृतिहरू लोप हुन खतरा बढ्दै गएको सन्दर्भमा कौराहाको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण आवश्यक देखिएको बताउनुभयो ।

कौराहा नृत्यको मौलिकता संरक्षण तथा प्रवर्द्धन गर्ने, मगर समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने, कौराहासम्बन्धी अध्ययन, अनुसन्धान तथा अनुभव आदानप्रदान गर्ने, नयाँ पुस्तालाई संस्कृतिप्रति जागरुक बनाउनेलगायत उद्देश्यसहित कौराहा सम्मेलनको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपाल मगर सङ्घ केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त थापा मगरले कौराहाको उद्गमथलो ऋषिङ भएकाले यहाँ कार्यक्रम आयोजना हुन सकारात्मक रहेको बताउनुभयो । उहाँले कौराहा मगर जातिको पहिचान र सभ्यतासँग गहिरो रूपमा जोडिएको सांस्कृतिक सम्पदा भएकाले यसको मौलिकता जोगाउन आवश्यक रहेको बताउनुभयो ।

कौराहा विशेषगरी ‘६ क’सँग सम्बन्धित रहेको जानकारहरू बताउँछन् । यसमा कहिले गाउने, कसरी गाउने, कति गाउने, कहाँ गाउने, कसरी नाच्ने÷नचाउने र कसरी बजाउने भन्ने आधारभूत पक्षहरू समेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर