काठमाडौ, १५ जेठ । अमेरिकाले कोरोनाभाइरसको विषयलाई राजनीतिक रङ्ग दिएको आरोप चीनको छ ।
चीनको वुहान सहरमा कोभिड १९ देखा परेको झन्डै डेढ वर्षपछि कोरोनाभाइरसको उत्पत्तिबारे रहस्य अझै विद्यमान छ ।
तर केही सातायाता चिनियाँ प्रयोगशालाबाट यो भाइरस चुहिएको हुनसक्ने विवादास्पद दाबी पुनः चर्चामा आएको छ ।
त्यो पुरानै दाबी हो जसलाई धेरैले यसअघि एउटा सतही षड्यन्त्रको सिद्धान्तका रूपमा खण्डन गरेका थिए ।
अहिले अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाभाइरसको उत्पत्तिबारे गरिएको सम्भावित दाबीको सेरोफेरोमा आकस्मिक अनुसन्धान गर्ने घोषणा गरेका छन् ।
प्रयोगशालाबाट चुहिएको सिद्धान्त के हो ?
पहिलो पटक कोरोनाभाइरस देखा परेको मध्य चीनको वुहानमा अवस्थित एउटा प्रयोगशालाबाट दुर्घटनावश वा अन्य कारणबाट कोरोभाइरस फुत्किएको हुनसक्ने एउटा शङ्काका आधारमा यस्तो दाबी गरिएको देखिन्छ ।
यस सिद्धान्तका समर्थकहरूले उक्त सहरमा रहेको एउटा मुख्य जैविक अध्ययन केन्द्रतर्फ औँला ठड्याएका छन् ।
वुहान इन्स्टिट्यूट अफ भाइरलजीले एक दशकभन्दा बढी समयदेखि चमेरामा कोरोनाभाइरसको अध्ययन गरिरहेको छ ।
उक्त प्रयोगशाला विभिन्न प्रजातिका जीव र माछा एवं तिनका मासु पाइने एउटा बजारभन्दा केही किलोमिटर मात्र पर छ ।
वुहानभित्र पनि त्यहीँ पहिलो पटक मानिसहरूमा कोरोनाभाइरस देखिएको थियो ।
यस सिद्धान्तमा विश्वास गर्नेहरू भाइरस प्रयोगशालाबाट चुहिएर उक्त बजारमा फैलिएको हुनसक्ने धारणा राख्छन् ।
धेरैलाई उक्त भाइरस प्रयोगशालामा तयार पारिएकोभन्दा पनि प्राकृतिक रूपबाटै सङ्कलन गरिएको अपरिवर्तित विषाणु हो भन्ने लागेको छ ।
यो दाबी महामारीको सुरुतिरै फैलिएको थियो र तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसलाई झन् बढ्ता फैलाउनुभएको थियो ।
केहीले चाहिँ यो सम्भावित जैविक हतियारका रूपमा मानवनिर्मित भाइरस भएको ठानेका छन् ।
यतिखेर फेरि किन यसको चर्चा ?
अमेरिकी सञ्चारमाध्यमहरूले यसबारे समाचार प्रकाशित गरिररहेका छन् । कुनै बेला यस विषयमा सन्देहपूर्वक हेर्ने वैज्ञानिकहरूले पनि यसबारे ताजा धारणा व्यक्त गरेका छन् ।
एउटा गोप्य अमेरिकी जासुसी प्रतिवेदनले सन् २०१९ को नोभेम्बरमा वुहान प्रयोगशालाका तीन अनुसन्धानकर्ताहरूको अस्पतालमा उपचार भएको जनाएको छ ।
यो साता अमेरिकी सञ्चारमाध्यममा आइरहेको समाचारका अनुसार त्यो भनेको सहरका मानिसहरूमा भाइरस देखिनुभन्दा ठिक अगाडिको अवस्था हो ।
वुहान इन्स्टिट्यूट अफ भाइरलजीले चमेरामा कोरोनाभाइरसको अध्ययन गरिरहेको छ
तर समाचारहरूका अनुसार यसै सिद्धान्तबारे ट्रम्प प्रशासनले सुरु गरेको अमेरिकी विदेश मन्त्रालयको एउटा अनुसन्धान भने बाइडन प्रशासनले बन्द गरेको छ ।
अमेरिकी माथिल्लो सदन सिनेटको एक समितिमा ११ मेमा बाइडनका प्रमुख स्वास्थ्य सल्लाहकार एन्थनी फाउचीले भन्नुभएको थियो त्यसको सम्भावना निश्चित रूपमा छ र म त्यो भए नभएको विषयको पूर्ण अनुसन्धान हुनुपर्छ भन्ने पक्षमा छु।
राष्ट्रपति बाइडनले आफूले पदभार लिएपछि कोभिड१९ को उत्पत्तिबारे एउटा प्रतिवेदन माग गरेको जसमा त्यो सङ्क्रमित जनावरसँग मानव संसर्ग भएर वा प्रयोगशालाको दुर्घटना मार्फत् के भएको हो भन्ने खोजेको जनाइएको छ ।
मङ्गलवार ट्रम्पले द न्यूयोर्क पोस्टलाई दिएको इमेल वक्तव्यमार्फत् पुनः त्यसबारे बढेको चासोको श्रेय लिन खोज्नुभएको छ ।
मेरा लागि सुरुदेखि नै त्यो स्पष्ट थियो तर सधैझैँ मेरो नराम्ररी आलोचना गरियो, ट्रम्पले भनेका छन्। अहिले ती सबैले भनेका छन् ऊ ठिक थियो ।
वैज्ञानिकहरू के भन्छन् ?
यो विषय अझै चर्को रूपमा विवादित छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को एउटा अनुसन्धानले त्यसको गहिराइसम्म पुग्ने ठानिएको थियो ।
तर धेरै विज्ञहरूले उक्त अनुसन्धानले उत्तरभन्दा पनि थप प्रश्नहरू उत्पन्न गरेको ठान्छन् ।
महामारीको स्रोतबारे बुझ्ने क्रममा यसै वर्षको सुरुमा वुहानमा १२ दिन बिताएको डब्ल्यूएचओको वैज्ञानिकहरूको टोलीले प्रयोगशालाबाट कोरोनाभाइरस चुहिएको सिद्धान्तलाई धेरै नै असम्भव बताएको थियो । तर त्यो निष्कर्षमाथि धेरै वैज्ञानिकहरूले प्रश्न तेर्स्याए ।
वैज्ञानिकहरूको एउटा प्रबुद्ध समूहले उक्त विषयलाई पर्याप्त रूपमा गम्भीर भएर नहेरिएको भन्दै डब्ल्यूएचओको प्रतिवेदनको आलोचना गरेको थियो ।
उक्त समूहले त्यो विषय सयौँ पानाको प्रतिवेदनमा केही पाना खर्चेर टुङ्ग्याइएको भन्दै आलोचना गरेको थियो ।
साइन्स म्यागेजीनमा लेख्दै ती वैज्ञानिकहरूले भनेका थिए, पर्याप्त विवरण हात नपर्दासम्म हामीले प्राकृतिक रूपबाट र प्रयोगशालाबाट चुहिएको भन्ने दुवै अनुमानलाई गम्भीरतापूर्वक लिनुपर्छ ।
यतिखेर विज्ञहरू प्रयोगशालाबाट चुहिएको भन्ने विषयलाई थप सूक्ष्म रूपमा हेर्नुपर्ने कुरामा मतैक्य हुन थालेको देखिएको छ ।
डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस एड्हानोम ग्रेब्रेयससले समेत नयाँ अनुसन्धानको आह्वान सबै अनुमानहरूबारे अध्ययन गर्न सकिने टिप्पणी गर्नुभएको छ ।
डा.फाउचीले यतिखेर उक्त भाइरस प्राकृतिक रूपमा उत्पत्ति भएको कुरा आफू मान्न तयार नभएको बताउनुभएको छ ।
गत वर्ष उहाँले कोभिड जनावरबाट मानिसमा फैलिएको हुनसक्ने धारणा व्यक्त गर्नुभएको थियो ।
चीनको प्रतिक्रिया
चिनियाँ प्रयोगशालाबाट कोभिड१९ को उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी प्रयासको चीनले निन्दा गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको बताउनुभएको थियो ।
चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई राजनीतिक आवरण दिएको र अरूलाई दोषी देखाएको आरोप लगाएको छ ।
मन्त्रालयले कोभिड१९ र चीनको वुहानमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि जनाएको छ । बीबीसी
