काठमाडौँ, ६ फागुन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गर्न नहुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै नेता डा कोइरालाले सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नहुने बताउनुभयो । “सरकारले यो कुरालाई गम्भिरतापूवर्क लिनुपर्दछ”, उहाँले भन्नुभयो ।
संसद् सुरु हुनु केही दिनअघि मात्र सरकारले अध्यादेश ल्याएमा नेता डा कोइरालाले आपत्ती व्यक्त गर्नुभयो । चित्त नबुझेका काममा सरकारलाई खबरदारी गर्नुपर्ने उहाँको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश साउदले जनताका मुद्दालाई केन्द्रीयस्तरको बहसमा ल्याउन प्रेसजगत्ले काम गरिरहेको बताउनुभयो । पत्रकार र राजनीतिक दलका कार्यकर्तामा विवेक र संयमता हुन आवश्यक रहेको उल्लेख गर्दै उहाँले समाजिक सञ्जाललाई नियमन गरिनुपर्ने बताउनुभयो ।
“सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई निषेध र बन्देज गरिनुहुन्न,” नेता साउदले भन्नुभयो ।
सांसद राजेन्द्र बजगाईंले प्रेसजगत्लाई अङ्कुश लगाउने गरी आउने कुनै पनि कानुनलाई पारित गर्न नहुने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले पत्रकारले प्रेस स्वतन्त्रताका साथै नागरिक अधिकार सुरक्षित गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
