काठमाडौँ, १८ माघः प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने बताउनुुभएको छ ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखापरेका सबल र दुर्बल पक्ष, अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने स्पष्ट गर्नुभयो । “यसका लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ । त्यससँगै सरकारपक्षीय दलहरूसँग छलफल गरिनेछ । विभिन्न पक्षसँग सघन विमर्श गरी संविधान संशोधन विषयको पहिचान गरिनेछ”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “पहिचान गरिएका विषयमाथि संसद्मा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दल र सरोकारवालासँग छलफल गरिनेछ । हामी स्पष्ट छौँ, पार्टीहरूका आ–आफ्नै धारणा र पोजिसन हुनसक्छन् । मिलेका कुरामा साझा धारणा बनाइनेछ, नमिलेका कुरामा बहस र छलफल गरिनेछ ।”
उहाँले संविधान संशोधन विधेयक ल्याउने काम सरकारको भएको र बहस÷छलफलमा आधारित निष्कर्षबाट सरकारले साझा धारणा बनाइ त्यसैका आधारमा संशोधन प्रस्ताव तयार पार्ने बताउनुभयो ।
प्रशासनिक सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि अध्यादेश
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोक्नेलगायत सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि संसद् नचलेको समयमा सरकारले विभिन्न अध्यादेश ल्याएको स्पष्ट गर्नुभएको छ ।
प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न ११, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासम्बन्धी १२, भूमि तथा वनसम्बन्धी तीन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐनगरी २९ वटा ऐनमा अध्यादेशमार्फत संशोधन गरिएको जानकारी दिनुभयो ।
उहाँले कानुनमा तोकिएको अवधिबाहेक सबै काम सात दिनभित्र सक्नैपर्ने कानुनी व्यवस्था गरिएको रसूचना प्रविधिमा आधारित नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाइएको बताउनुुभयो । “अब हाम्रा नेपाली कम्पनीलाई विदेशमा सहायक कम्पनी तथा शाखा खोल्न, कारोबार गर्न र विदेशमा भएको आम्दानी नेपाल भित्र्याउनसक्ने वातावरण बनाइएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले उपभोक्ताहित संरक्षणसम्बन्धी बाझिएका कानुनमध्ये अप्रासाङ्गिक कानुन खारेज गरिएको र प्रतिस्पर्धाका माध्ययमबाट वस्तुको मूल्य निर्धारण हुने व्यवस्थागरी उद्यमी व्यवसायीलाई अनावश्यक रूपमा तर्साउने अवस्था हटाइएको र उपभोक्ताहित संरक्षणलाई अझै मजबुत बनाइएको जनाउनुभयो ।
प्रधानमन्त्री ओलीले उद्योग दर्ताका लागि निवेदन दिएको १५ दिनभित्र सरकारी अधिकारीले निर्णय दिनुपर्ने र सो अवधिमा निर्णय नदिए स्वतः उद्योग सञ्चालनको मान्यता दिने व्यवस्था गरिएको, उद्यमीले कम्पनी खोल्न पाउने तर टाट पल्टिदासमेत बन्द गर्न अनावश्यक ‘झन्झट’मा फस्नुपर्ने अवस्था सदाका लागि अन्त्य गरिएको बताउनुभयो ।
उहाँले सहकारी ठगीसम्बन्धी संसदीय समितिको प्रतिवेदनले औँल्याएअनुरुप बचतकर्ताको रकम सुरक्षा गर्न आवश्यक राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्नेलगायत तत्काल गर्नु पर्ने कामका लागि विद्यमान सहकारी ऐनमा संशोधन गरिएको पनि जानकारी दिनुभयो ।
बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छ
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट संसद् मुक्त भएको बताउनुुभएको छ ।
आज प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुुभयो, “गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहो¥याउनु नपरेको एउटा सुखद पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु, सत्ताको नाउँमा प्वाल पारेर फुत्त अर्कै डुङ्गा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब रोक लागेको छ ।”
प्रधानमन्त्री ओलीले जनताको भरोसा र संसद्को दृढताले भरिएको आत्मविश्वास लिएर आफूू सदनमा उपस्थित भएको उल्लेख गर्नुभयो ।
पार्टी टुक्र्याउने र भत्काउनेजस्ता कुरा यो सरकारको ‘मेन्यु’मा छैन
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने र भत्काउनेजस्ता कुराहरू सरकारको ‘मेन्यु’मा नरहेको स्पष्ट गर्नुभएको छ ।
उहाँले कांग्रेस–एमालेसहितको बलियो सरकारको प्राथमिकता त्यस्तो हुन नसक्ने भन्दै ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो । सरकार ढल्यो भनेर समय खेर नफाल्न आग्रह गर्दै उहाँले भन्नुभयो, “विपक्षमा रहेका साथीहरूले एउटा कुरामा आफ्नो समय व्यर्थमा खेर फालेजस्तो लागिरहेको छ–सरकार ढल्छ, ढल्नै लाग्यो । पुस मसान्त, माघे सङ्क्रान्ति काट्दैन । आदि इत्यादि । यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौँ ।”
बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागिता र हालैको छिमेकी चीनको औपचारिक भ्रमणबारे पनि जानकारी गराउनुभयो ।
