काठमाण्डौं, २७ बैशाख । नेकपा एमालेको नेपाल-खनाल पक्ष आजको प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुनेभएको छ । केहीबेर अघि सिंहदरबारमा बसेको नेपाल-खनाल पक्षको बैठकले यस्तो निर्णय गरेको हो ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सोही पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने कार्यक्रम तय छ ।
नेपाल- खनाल पक्षले प्रम ओलीका कार्यहरू पार्टीहित विपरित भएको आरोप लगाउँदै आएको छ ।
प्रम ओलीको कार्यशैलीको कारण असन्तुष्ट नेपाल-खनाल पक्षका सांसदहरू राजिनामा दिने मनस्थितिमा समेत पुगेका थिए । आज बिहान ९.३० बजेसम्मको समय दिई पार्टी भित्रको समस्या समाधान गर्न नेपाल-खनाल पक्षले ओलीलाई आग्रहसमेत गरेको थियो । तर ओलीले त्यसको वास्ता गर्नु भएन ।
त्यसपछि बसेको नेपाल-खनाल पक्षको बैठकले तत्काल भने राजीनामा नदिने निर्णय गरेको हो। बैठकमा केही सांसदले सांसद पदबाट राजीनामा नदिन दवाव दिएका थिए ।
बैठकको निर्णय सुनाउँदै नेता भीम रावलले भन्नुभयो : प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय बैठकले गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको यो बैठकमा हामी उपस्थित हुँदैनौं ।
यसैबीच एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रधानमन्त्रीका पक्षमा मतदान गर्न दलका तर्फबाट पुनः आग्रह गर्नुभएको छ । उहाँले आज बिहान ट्वीट गर्दै यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने भएकाले हतारोमा कुनै अनुचित निर्णयमा जान वाञ्छनीय नहुनेमा सबै सांसदको ध्यानाकर्षण गराउनुभएको छ ।
“आउनुस्, केही समस्या भए सँगै बसौंँ, छलफल गरौं र समाधान गरौंँ”, प्रधानमन्त्री ओलीको ट्वीटमा भनिएको छ ।
नेपाल-खनाल पक्षमा २२ जना सांसद रहेको बताइएको छ ।
प्रतिनिधि सभामा एमालेका १२१ सांसद छन् । आफ्नै पार्टीका २२ जना सांसद अनुपस्थित हुने भएपछि अब प्रम ओलीले संसदको विश्वास प्राप्त गर्न सम्भावना क्षीण भएको छ ।
काँग्रेस र माओवादी केन्द्रले ओलीलाई विश्वासको मत नदिने निर्णय पहिले नै गरिसकेका छन् । ३२ सांसद रहेको जसपामा ओलीको समर्थन र विरोधमा आधा/आधा छन् । त्यसैले सो पार्टीले ह्विप जारी नगर्ने निर्णय गरेको हुँदा जसपाको १६/१७ मत ओलीको विपक्षमा पर्ने छ । बाँकी अन्य तटस्थ बस्ने भन्ने जसपा भित्रको सहमति छ ।
