काठमाण्डौ,  २० बैशाख । कोरोना भाइरस संक्रमणक निरन्तर बढ्दो छ । अस्पतालमा भर्ना भएका बाँके,कैलाली,मकवानपुर र सिन्धुलीमा थप दश सङ्क्रमितको मृत्यु भएको छ ।संक्रमण र मृत्युसंख्या प्रतिदिन बढ्दो छ । यस्तै अबस्था अझै रहेमा स्थिति भयाबय बन्ने निश्चित छ

  बाँकेमा थप पाँच सङ्क्रमितको मृत्यु
बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी ५१ वर्षीय पुरुषको आज बिहान ३ः३० बजे, नेपालगञ्ज–१ निवासी ६६ वर्षीय पुरुषको ४ः०० बजे र बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ४७ वर्षीय पुरुषको आज बिहान ६ः३० बजे मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा नेपालगञ्ज–५ निवासी ४८ वर्षीय पुरुषको गए राति ९ः३० र बैजनाथ गाउँपालिका–८ निवासी ६० वर्षीया महिलाको आज बिहान १ः२० बजे मृत्यु भएको थियो । योसँगै बाँकेका १३३ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका १२२ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।

धनगढीमा कोरोनाबाट थप चारको मृत्यु
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा –१० की ३५ वर्षीया महिला छन् । ती पुरुषको आज बिहान साढे १ बजे र महिलाको बिहान साढे ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।
त्यस्तै धनगढी उपमहानगरपालिका –२ का ४३ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा अज बिहान ५ बजेका समयमा मृत्यु भएको जोशीले जानकारी दिनुभयो । सेतीमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको बताइएको छ ।

  मकवानपुरमा कोरोना सङ्क्रमितको मृत्यु
मकवानपुरमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गए राति हेटौँडा अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको अस्पतालको कोभिड वार्डले जानकारी दिएको छ । अस्पतालको कोभिड–१९ उपचारकक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा हेटौँडा–१ का ५५ वर्षीय पुरुषको राति साढे ९ बजे मृत्यु भएको हेटौँडा अस्पतालमा प्रमुख डा प्रवीन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक पुरुषलाई हिजो मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यससँगै मकवानपुरमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ३४ पुगेको छ भने सङ्क्रमण बढ्दो छ । मकवानपुरमा आइतबारमात्रै २११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो

    सिन्धुलीमा कोरोनाबाट वृद्धाको मृत्यु
सिन्धुली । यहाँ कोरोना सङ्क्रमित एक वृद्धाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणपछि होमआइसोलेसनमा बस्दै आउनुभएकी एक वृद्धाको मृत्यु भएको हो । सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोख्रेलले तीनपाटन गाउँपालिका–२ की ८० वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण आइतबार बिहान मृत्यु भएको जानकारी दिनुभयो । “बिरामी भएपछि उपचारका लागि अस्पतालमा परिवारले ल्याएकामा कोरोना सङ्क्रमण पुष्टि भएपछि परिवारले घर लगेका थिए”, उहाँले भन्नुभयो ।

कोरोनाको दोस्रो लहरमा सङ्क्रमणबाट मृत्यु भएको जिल्लाको यो पहिलो घटना हो । जिल्लामा हाल ९५ सक्रिय सङ्क्रमित रहेका छन् । कमलामाई नगरपालिकामा ४७, दुधौली नगरपालिकामा २९, सुनकोशी गाउँपालिकामा १३, तीनपाटन गाउँपालिकामा तीन, मरिण गाउँपालिकामा दुई र फिक्कल गाउँपालिकामा एक जना कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।


–––

 

प्रतिक्रिया

सम्बन्धित खवर