नवलपुर, १७ जेठ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी भएको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनको प्रशिक्षण विभागले आज नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उहाँले अन्य कुनै पार्टी लोकतान्त्रिक पार्टी नभएको बताउनुभयो ।
“नेपाली कांग्रेस मात्रै लोकतान्त्रिक, बहुलवादी र संसदवादी पार्टी हो”, उहाँले भन्नुभयो, “अरु कुनै पार्टी पनि हैनन् ।” नेपालमा ल्याइएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउनु अहिलेको आवश्यकता भएको नेता निधिको भनाइ छ । सङ्घीय संरचना नेपालमा ल्याइए पनि सङ्घीय प्रणालीअनुसारको पूरा संरचना निर्माण भइनसकेको उहाँले बताउनुभयो ।
“सङ्घीय प्रणालीको संरचनात्मक अवयवको लागि हामीले कानुन बनाएका छैनौँ, संविधानको अनुसूचीमा रहेका कुरा हामीले दिएका छैनौँ”, उहाँले भन्नुभयो, “सङ्घीय प्रणाली लागू ग-यौँ, तीन तहको सरकार निर्माण गरियो तर प्रदेश मातहतमा आफ्नै प्रहरी छैन ।” संविधानले सङ्घीय, प्रदेश र स्थानीय तह गरी तीन वटा सरकार निर्माण गरेको भन्दै नेता निधीले प्रहरी नभइ सरकार नहुने बताउनुभयो । सङ्घीयताको पक्षमा अझै कानुन बनाउँदै सङ्घीय प्रणालीलाई मजबुत बनाउनुपर्ने नेता निधिको धारणा थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले केन्द्रीय नेताहरुका कारण नेपाली कांग्रेसको जनमत घट्दै गएको बताउनुभयो । “केन्द्रले गठबन्धन गरेर पठाउँदा हामीले कहिले हसिया हथौडामा, कहिले हलोमा मतदान गर्नुपरेको छ”, उहाँले भन्नुभयो, “जसका कारण केन्द्रबाट कांग्रेस बिगार्ने काम भइरहेको छ ।” तीन दिनसम्म सञ्चालन हुने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ४५ जनाको सहभागिता रहेको प्रशिक्षण शाखाका सचिव टङ्कनाथ पौडेलले जानकारी दिनुभयो ।
सहभागीहरुलाई राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एव कांग्रेस केन्द्रीय सदस्य डा गोविन्द पोखरेल, कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा सुरेश आचार्य, डा कृष्णप्रसाद पौडेल, बागमती प्रदेशका मुख्य सचिव राजु नेपाललगायतले प्रशिक्षण दिनुहुनेछ ।
