काठमाडौँ, २२ असार । नेपालबाट हराएर अमेरिका पु¥याइएका पुरातात्विक महत्वको नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति फिर्ता गरिएको छ ।

पुरातत्व विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा ती मूर्ति फिर्ता भएको जानकारी गराइएको हो । फिर्ता भएकामध्ये संयुक्त राज्य अमेरिकाको न्यूयोर्क ९म्यानह्याटन० स्थित महानगरीय कला सङ्ग्रहालयमा रहेको १६ औँ शताब्दीको काठको नृत्यदेवीको मूर्ति एउटा हो । सो मूर्ति पाटनको इबहाबहीबाट विसं २०४५÷२०४६ तिर हराएको थियो ।

अमेरिकाकै सिएस्थित बेर्कली कला सङ्ग्रहालयमा रहेको तामाबाट निर्मित सुनौलो रङको पद्मपाणि लोकेश्वरको १३औँ शताब्दीको मूर्ति पनि आज फिर्ता गरिएकोछ । यो मूर्ति काठमाडौँको ठमेलस्थित विक्रमशिला महाबिहार ९ठबही० बाट सन् १९८० को दशकमा हराएको थियो । दुवै मूर्ति लिन स्थानीय समुदाय पनि विभाग पुगेका थिए ।

दुवै मूर्ति अमेरिकाको न्यूयोर्कस्थित जिल्ला अधिवक्ताको कार्यालयको बेचबिखनसम्बन्धी शाखामा राखिएकामा अनुसन्धानका क्रममा नेपालबाट गैर कानुनी रुपमा गएको प्रमाणित भएपछि फिर्ता गरिएको हो । मूर्ति फिर्ता ल्याउन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित नेपाली वाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत प्रेमबहादुर बुढथापालाई असार ९ गते हस्तान्तरण गरिएको थियो ।
ती वस्तुको उत्पत्तिस्थल नेपाल भएको भनी विभागबाट प्रमाणित भएपछि अन्तरराष्ट्रिय कानुन अनुसार नेपाल फिर्ता गर्न सहज भएको थियो । अमेरिकाका दुवै सङ्ग्रहालयका साथै जिल्ला अधिवक्ताको कार्यालय, न्यूयोर्कले पनि मूर्ति नेपाल फिर्ता ल्याउन सहयोग गरेको विभागले जनाएको छ । त्यसका लागि नेपालबाट संस्कृति, परराष्ट्र र अर्थ मन्त्रालयले पटकपटक पत्राचारलगायत कानुनी प्रक्रियाका लागि पहल गरेका थिए ।

पुरातात्विक महत्वका दुवै सम्पदा नेपाल ल्याउन न्यूयोर्कस्थित नेवाः गुठीले आर्थिक सहयोग गरेको अध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिनुभयो । अमेरिकामा रहेका गुठीका धेरै जना सदस्यको सहयोगमा सम्भव भएको उहाँको भनाइ थियो । मूर्ति नेपाल ल्याउन सहयोग गर्ने गुठीलाई आज आयोजित कार्यक्रममा विभागले प्रशंसापत्रसहित सम्मान गरेको छ ।

फिर्ता भएका सम्पदा सुरक्षा, संरक्षण, अनुसन्धानकर्तासम्मको पहुँचका लागि आजै राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको छ । ती सम्पदा तीन महिनासम्म राष्ट्रिय सङ्ग्रहालयमा रहने विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिनुभयो । तीन महिनामा चोरी हुनुअघि मूर्ति रहेको स्थानमा आवश्यक संरचनासहित सुरक्षाको व्यवस्था मिलाएर पुनःस्थापना गरिने पनि उहाँले बताउनुभयो । नेपाल र अमेरिकाबीच सांस्कृतिक आदानप्रदान सम्झौता भएकाले नेपालबाट चोरी भएर अमेरिका पुगेका अन्य सम्पदा पनि छिट्टै नेपाल ल्याउन सहज हुने भनाइ पनि महानिर्देशक प्रधानाङ्गको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले चोरी भई विदेशमा पुगेका अन्य सम्पदा पनि फिर्ता गराउन मन्त्रालयका तर्फबाट सरोकार भएका सबै निकायको सहयोग जुटाएर ल्याउने प्रक्रिया भइरहेको बताउनुभयो ।

यसका लागि सहयोग गर्न सबै सरोकार भएका निकाय एवं सम्पदाप्रेमीलाई उहाँले आह्वान पनि गर्नुभयो । ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले हराएकै स्थानमा मूर्ति पुनःस्थापना गरी पूजा, आराधना गर्ने वातावरण मिलाउन माग गर्नुभयो । त्यसका लागि स्थानीय सरकारका तर्फबाट सुरक्षालगायत आवश्यक सहयोग गरिने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नेपालबाट चोरी भई अमेरिका पुगेका मूर्ति फिर्ता भएपनि फ्रान्समा पुगेका मूर्ति फिर्ता गर्न सबै प्रक्रिया पूरा भएपछि पनि त्यहाँको संसद्ले स्वीकृति दिनुपर्ने प्रावधानका कारण केही समय लागेको पनि उहाँले सुनाउनुभयो ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले मूर्ति हराउँदा त्यहाँका सम्पदा र संस्कृतिको इतिहास पनि हराउने गरेकाले मूर्तिलाई हराएकै स्थानमा पुनःस्थापना गरेर पूजा, आराधना गरिनुपर्ने बताउनुभयो । चार, पाँच वर्षको मिहिनेतपछि फिर्ता भएका मूर्ति पुनःस्थापना गरी आत्मा जोडिनुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो ।

नेपालस्थित अमेरिकी दूतावासका माइक हर्करले अमेरिकामा रहेका अन्य नेपाली कला संस्कृतिका सामग्री पनि नेपाली भनी प्रमाणित भएपछि कानुनी प्रक्रिया पूरा गरेर फिर्ता गरिने प्रतिबद्धता जनाउनुभयो । त्यसका लागि अमेरिकी सरकार र दूतावासका तर्फबाकट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

अमेरिकाको सहयोगमा विगत वर्षमा प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, प्रस्तरको उमामहेश्वरको मूर्ति, प्रस्तरको नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरको शाक्यमुनिको मूर्ति पनि नेपाल फिर्ता भएको थियो ।

प्रस्तरको चतुर्मुखी शिवलिङ्ग विशेष प्रकारको छ । तीन तहको यो मूर्तिमा ब्रह्मभाग, विष्णुभाग र शङ्करभाग छ । खम्बामाथि बनेको यो मूर्ति सन् १९८० को आसपासमा पशुपति क्षेत्रबाट हराएको थियो ।

प्रस्तरको उमामहेश्वरको मूर्ति ललितपुर महानगरपालिका–११ गाः हिटी टोलमा रहेको थियो । त्यो मूर्ति सन् १९६० मा हराएको हो । यो मूर्ति १० औँ शताब्दीको हो । यो मूर्ति अमेरिकाको डेनभर आर्ट सङ्ग्रहालयको एसिया सङ्कलनमा भेटिएको थियो ।

प्रस्तरको नागराजको मूर्ति १२ औँ वा १३ औँ शताब्दीको हो । यो मूर्ति राजकीय स्वरुपको मानवाकार छ । यो मूर्ति सन् १९८२ मा नक्साल क्षेत्रबाट हराएको हो । पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति सन् १९५० तिर हराएको विभागले जनाएको छ । यो मूर्ति अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो ।

प्रस्तरको शाक्यमुनिको मूर्ति पनि सन् १९५० कै दशकमा हराएको हो । त्यो मूर्ति पनि अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो । युपिएस कार्गोले पनि ती मूर्ति निःशुल्क फिर्ता गराउन सहयोग गरेको थियो । अमेरिकामा ती सामग्री सङ्ग्रह गरेका निकाय एवं कम्पनीले पनि सहयोग गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर