वासिङ्टन, ८ बैशाख । कोरोनाभाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार छन् । अर्थतन्त्र पुनः खुला भएपनि कतिपय रोजगारदातामाथि नयाँ मानिसलाई रोजगारी दिनेतर्फ अनपेक्षित चुनौती देखिएको छ ।
कोरोनाभाइरसबाट संक्रमित हुने डरदेखि बालबच्चाको हेरचाह बापत प्राप्त हुने सरकारी बेरोजगार भत्ताको लोभमा कतिपय बेरोजगार अमेरिकीहरु काममा पुनः फर्कन चाहिरहेका छैनन् ।
“यो कोभिड सङ्कटका लागि विरोधाभास हो,” अक्सफोर्डका प्रमुख अमेरिकी अर्थशास्त्री ग्रेगरी डाकोले बताउनुभयो । “हामीसँग नयाँ रोजगारी र मागका बीचमा असन्तुलन छ र आउँदा महिनाहरुमा जोखिम बढ्नेछ ।”
कोभिड–१९ का खोपले व्यवसायलाई सामान्यतर्फ उन्मुख गराइरहेकाले अमेरिकी अर्थव्यवस्थामा सुधार आउन थालेको छ भने कम्पनीहरुले पनि बढ्दो माग पूरा गर्न भर्ती गर्न थालेका छन् ।
विश्लेषकहरुको भनाईमा, सबै बेरोजगार व्यक्तिहरु आफ्नो जागिरमा फिर्ता हुन तयार देखिएका छैनन् ।
“मुख्य मुद्दा नै हामीबीच अझै पनि महामारी छ, र कामको खोजी गर्नेहरुमा कार्यस्थलको स्वास्थ्य र सुरक्षाका बारेमा ठूलो चिन्ता छ,” जिपरिक्रुटरकी अर्थशास्त्री जुलिया पोलकले भन्नुभयो ।
अमेरिकी जनसंख्याका एक चौथाईले पूर्ण खोप लगाइसकेका छन् । यो संख्या युरोपको भन्दा बढी छ भने धेरै प्रमुख अर्थतन्त्र भएका मुलुकभन्दा निकै ज्यादा छ । तर यसको बाबजूद देशको तीन चौथाई भाग कोभिड–१९ को सङ्क्रमण हुने जोखिममा छ ।
जर्जटाउन विश्वविद्यालयको फ्युचरएडका अनुसार कोभिड महामारीका कारण बन्द भएका देशभरका आधाभन्दा बढी विद्यालयहरु पूर्णकालीक कक्षामा फर्किसकेकाले बच्चाको हेरचाहको काम गर्ने अभिभावकहरुका लागि यो अर्को चुनौती हो ।
विश्वकै सबैभन्दा ठूलो अर्थव्यवस्था भएको संयुक्तराज्य अमेरिकामा कोभिड–१९ को महामारीले झण्डै २२ करोड रोजगारी समाप्त पारिदिएको थियो जसमध्ये आधाभन्दा बढी अर्थात् एक करोड ४० लाख रोजगारी पुनस्र्थापना भइसकेको छ ।
तैपनि, स्व–रोजगारमा रहेका समेत झण्डै एक करोड ७० लाख मानिसले अझै पनि सरकारी बेरोजगारी सहायता प्राप्त गरिरहेका छन्, र धेरैले आंशिक समय काम गरिरहेका छन् किनभने उनीहरु पूर्ण समय काम गर्न पाउँदैनन् ।
