अमेरिका, ३० फागुन । अमेरिकी राष्ट्रपति जो बाइडन र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आगामी निर्वाचनमा उम्मेदवार हुनुहुन्छ उहाँहरूको दलबाट आवश्यक प्रतिनिधिहरूको समर्थन जुटाउन सफल हुनु भएको छ ।
कैयौँ राज्यहरूमा भएका प्राइमरी चुनावहरूबाट उहाँहरू दुवै जनाले मङ्गलवार आवश्यक प्रतिनिधि सङ्ख्या जुटाउनुभएको हो ।
ट्रम्पको रिपब्लिकन पार्टीका उम्मेदवारले कम्तीमा १,२१५ जना पार्टी प्रतिनिधिको समर्थन जुटाउन आवश्यक छ भने बाइडनको डेमोक्र्याट पार्टीका उम्मेदवारले कम्तीमा १,९६८ पार्टी प्रतिनिधिको समर्थन जुटाउन आवश्यक छ।
अब ७० वर्षयता पहिलोपटक अमेरिकी निर्वाचनमा अघिल्लो निर्वाचनकै झल्को दिने गरी उहाँ दुईजना प्रतिस्पर्धी हुने पक्का भएको छ।
सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट लडेका बाइडनले रिपब्लिकन पार्टीबाट उठेका तत्कालीन राष्ट्रपति ट्रम्पलाई पराजित र्गाुभएको थियो ।
पार्टिको उम्मेदवारी जित्नका लागि भएका प्राइमरी चुनावहरूमा बाइडनका विरुद्ध खासै प्रतिस्पर्धी नै थिएनन्।
उम्मेदवारी जितेपछि उहाँले पार्टीले आफूमाथि पुनः विश्वास गरेकोप्रति सम्मानित अनुभव गरेको प्रतिक्रिया दिनुभएको छ ।
तर उहाँको उम्मेदवारीको औपचारिक घोषणा भने अगस्टमा हुने डेमोक्र्याटिक न्याश्नल कन्भेनशनपश्चात् मात्र गरिनेछ। रिपब्लिकन पार्टीले पनि उसको राष्ट्रिय सम्मेलनबाट उम्मेदवारको घोषणा गर्नेछ।
ट्रम्पले रिपब्लिकन प्राइमरी चुनावहरूमा वर्चस्व कायम गर्दै आउनुभएको छ । अहिलेसम्म भएका प्राइमरी चुनावमध्ये एउटा बाहेक सबै ठाउँमा उहाँले जित्नुभएको थियो ।
उहाँका प्रमुख प्रतिस्पर्धी राष्ट्रसङ्घकी पूर्वराजदूत निकी ह्याली गत साता चुनावी मैदानबाट पछाडि हटेकी थिइन्।
राष्ट्रपति बाइडनले आफ्नो स्मरण शक्ति ठिक रहेको बताउने गर्नुभएको छ ।
एकासी वर्षका राष्ट्रपति बाइडनले निरन्तर धेरै उमेर र त्यसका कारण राष्ट्रपतिको रूपमा जिम्मेवारी बहन गर्न सक्ने उहाँको क्षमताबारे प्रश्न झेलिरहनुभएको छ ।
तर उहाँको पार्टीले भने उनैलाई पत्याएको छ। वर्तमान राष्ट्रपति भएका कारण पनि उहाँले पार्टीभित्र खासै प्रतिरोध बेहोर्न परेन।
त्यसभन्दा चार वर्ष कान्छा ट्रम्प चाहिँ रिपब्लिकन दलका आधार रहेका मतदाताहरूमाझ निकै लोकप्रिय पाइएका छन् जसले उहाँलाई एकपछि अर्को प्राइमरी चुनावमा जिताए।
ट्रम्पले कडा आप्रवासन नीतिलाई आफ्नो मूल चुनावी मुद्दा बनाइरहनुभएको छ । बाइडनले अमेरिकी अर्थतन्त्रमा देखिएका सकारात्मक प्रवृत्तिहरूको बखान गरिरहनुभएको छ ।
उहाँले महिलाहरूको गर्भपतन अधिकार सङ्कुचित पार्ने तथा सामाजिक कार्यक्रमहरू कटौती गर्ने प्रयासहरूबारे सचेत हुन आह्वान गरिरहनुभएको छ ।
बाइडनले ट्रम्पले जितेमा ‘देश पछाडि फर्कने’ जोखिम पनि औँल्याउँदै आउनुभएको छ ।
ट्रम्पले चाहिँ कडा आप्रवासन नीतिलाई आफ्नो मूल चुनावी मुद्दा बनाइरहनुभएको छ । उहाँले ‘सीमा बन्द’ गर्नेदेखि लिएर ‘कीर्तिमानी सङ्ख्यामा’ अवैध आप्रवासीलाई देशनिकाला गर्न वाचा गर्दै आउनुभएको छ ।
ट्रम्पले अपराध घटाउने, घरेलु ऊर्जा उत्पादन बढाउने, विदेशी आयातमा थप शुल्क लगाउने, युक्रेन युद्ध अन्त्य गर्ने र विश्वमामिलामा उहाँको ‘अमेरिका पहिले’को नारा पुनः लागु गर्ने बताउँदै आउनुभएको छ ।
आगामी राष्ट्रपतीय निर्वाचन नोभेम्बर ५ मा हुँदै छ।
