काठमाण्डौं, २५ फागुन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षा आगामी वर्षको जेठ महीनामा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसईई २०७८ साल जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै आजको बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु गर्ने निर्णय पनि गरेको छ ।
परीक्षामा विद्यार्थीहरू भौतिक रूपमा उपस्थित हुनेछन् । कोरोना महामारी काम हुँदै गएको र भ्याकसिन पनि उपलब्ध भैसकेकोले बोर्डले यस्तो निर्णय गरेको हो ।
निर्णय अनुसार कक्षा ११ को परीक्षा भने यसपालि सम्बन्धित स्कुलले नै लिने गरी जिम्मा लगाइएको छ । यस भन्दाअघि कक्षा ११ को परीक्षा बोर्डले नै सञ्चालन गर्दै आएको थियो ।
गत वर्ष कोरोना महामारीका कारण एसइई आन्तरिक मूल्यांकनबाट गरिएको थियो।
विगतमा चैत महीनामा लिइदै आएको एसईई यसपालि कोरोना महामारीका कारण स्कुल बन्द भएर कक्षा संचालन हुन नसकेको पर सरेको हो ।
सरकारले यस वर्षको शैक्षिक सत्र जेठसम्म कायम गरिएको सूचना यस अघि नै सार्वजनिक गरिसकेको छ ।
