काठमाडौँ, ३ माघ । नेकपा (एमाले) कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखी २५ जनाभन्दा बढीको उपस्थिति रहने गरी पार्टी तथा जनसङ्गठनका कार्यक्रमलाई स्थगित गर्न निर्देशन दिएको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्मनाथ अधिकारीले आज प्रदेश र सबै जिल्ला कार्यालयलाई आन्तरिक सर्कुलर जारी गर्दै कोरोना भाइरसको महामारीलाई दृष्टिगत गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धी सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डलाई पालना गरी कार्यालय सञ्चालन गर्नसमेत निर्देशन दिनुभएको छ ।
यस्तै, पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्न र पार्टीका स्थानीय कमिटी, नेता–कार्यकता र जनप्रतिनिधि कोभिड–१९ को महामारीविरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि सर्कुलरमा भनिएको छ ।
चौतारीको महाधिवेशन स्थगित
स्वास्थ्य जोखिमका कारण पोखरामा यही माघ २२–२३ गते हुने प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन स्थगन भएको छ ।
गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना सङ्क्रमण निकै बढदै गइरहेकाले सबै कार्यक्रम बन्द गरिएको चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।
