काठमाण्डौं, २५ मंसिर । नेपाली कांग्रेसका आगामी सभापतिको लागि नेता शेखर कोइरालाले उम्मेदवारी दर्ता गराउनु भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट उहाँले यो उम्मेदवारी दर्ता गराउनु भएको हो ।
यो समूहका शीर्ष नेताहरूबीच आज दिउँसो भएको छलफलमा वरिष्ठ नेता पौडेलले आफू चुनावी प्रतिस्पर्धामा नजाने, कोइरालालाई साथ र समर्थन दिने निर्णय सुनाएपछि शेखर कोइरालाको पक्षमा साझा सहमति जुटेको हो ।
यो सहमतिसँगै सभापतिको दावी गरिरहनुभएका अर्का नेता प्रकाशमा सिंह अब पौडेल समूहबाट बाहिरिनु भएको छ । सिंहले पनि सभाापतिको लागि छुट्टै मनोनयन पत्र दाखिला गर्नुभएको छ ।
पौडेल समूहका सभापतिका उम्मेदवार शेखर कोइरालाको प्यानलमा युवा नेताहरू छानिनु भएको छ । त्यस अनुसार उपसभापतिमा चन्द्र भण्डारी र घनराज गुरुङले उम्मेदवारी दर्ता गराउनु भएको छ भने महामन्त्री पदको लागि गगनकुमार थापा र मिनेन्द्र रिजालले उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी कोइराला प्यानलबाट सहमहामन्त्रीको उम्मेदवारमा देवराज चालिसे (खस आर्य), बद्री पाण्डे (पिछडिएको क्षेत्र), जीवन परियार (दलित) , कमला पन्त (महिला), रामकृष्ण यादव (मधेसी), विकास लामा (जनजाति), तेजुलाल चौधरी (थारू) र अल्पसंख्यकबाट वकिल मियाँले उम्मेदवारी दिनुभएको छ ।
सभापतिको लागि अन्यमा वर्तमान सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिले पनि उम्मेदवारी दिनुभएको छ ।
देउवा समूहबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उठ्नु भएको छ । देउवाले महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलललई उठाउनुभएको छ । प्रदीप पौडेल कृष्ण सिटौला पक्षको हुनुहुन्छ ।
देउवा समूहबाट महामन्त्री पदको दावी गरिरहनु भएका विश्वप्रकाश शर्मा अचानक समूह परिवर्तन गरेर प्रकाशमानको प्यानलबाट महामन्त्री पदमा उठ्नुभएको छ । सिंहको उपसभापतिमा नेतृ सुजाता कोइराला उठ्नुभएको छ ।
यता वर्तमान महामन्त्री वीपी पुत्र शशांक कोइरालाले पौडेल समूहका सभापति उम्मेदवार र उहाँको प्यानललाई साथ र समर्थन गर्नुभएको छ ।
सभापतिका अर्का प्रत्याशी निधिले भने त्यस्तो कुनै प्यानल बनाउनु भएको छैन ।
हिजोदेखि सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आगामी नेतृत्वको लागि उम्मेदवारी दर्ता गराउने दिन आज थियो । भोलिसम्म नाम फिर्ता लिने समय छ । पर्सी सोमबार मतदन हुने कार्यक्रम छ ।
