काठमाण्डौं, २४ मंसिर । यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार केशवप्रसाद पौडेललाई प्रदान गरिएको छ । २०४२ सालदेखि पत्रकारितामा सक्रिय पौडेललाई आज शुक्रबार सो पुरस्कार प्रदान  गरिएको हो ।

नेपाल समाचार केन्द्र प्रालिद्वारा स्थापित सो पुरस्कारको राशि सम्मान पत्रसहित नगद ३४ हजार रहेको छ । नेपालमा आर्थिक पत्रकारिताको जग बसाल्न महत्वपूर्ण भूमिका खेलेका स्वर्गीय पत्रकार विजयबाबु खत्रीको स्मृतिमा २०७५ सालमा केन्द्रले पुरस्कार स्थापना गरेको हो । खत्रीको दशौं स्मृति दिवसको अवसरमा गत मंसिर १२ गते यस वर्ष पौडेललाई सो पुरस्कार प्रदान गरिने घोषणा गरिएको थियो ।

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल र नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष खत्री सहितको समिति गठन भएको थियो । सोही समितिले पत्रकार पौडेललाई तेस्रो विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको थियो ।केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमको पाँचौं वार्षिकोत्सवको अवसरमा सो पुरस्कार हस्तान्तरण गरिएको हो । पुरस्कृत व्यक्तित्व पौडेललाई केन्द्रकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले सम्मानपत्र हस्तान्तरण गर्नुभयो।

पौडेल न्यु स्पटलाइट पाक्षिक म्यागजिनका प्रकाशक र सम्पादक हुनुहुन्छ।

आर्थिक पत्रकारितामा सक्रिय रहँदारहँदै २०६८ साल मंसिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी ३४ वर्षको उमेरमा विजयबाबु खत्रीको निधन भएको थियो । स्वर्गीय खत्रीको स्मृतिमा उहाँकी धर्मपत्नी लक्ष्मी श्रेष्ठ खत्रीले २०७५ मंसिर १२ गते अक्षय कोष स्थापना गर्नुभएको हो । सोही अक्षय कोषमार्फत केन्द्रले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर