काठमाडौँ, १४ मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुवर्ण शम्शेर राणाको ठूलो त्याग, तपस्या र योगदान रहेको बताउनुभएको छ ।
सुवर्ण समशेर अध्ययन प्रतिष्ठानले प्रकाशन गरेको रामचन्द्र घिमिरेद्वारा लिखित पुस्तक ‘राजनेता सुवर्ण शम्शेर’को लोकार्पण गर्दै उहाँले प्रजातन्त्रप्रतिको निष्ठाप्रति सुवर्ण शम्शेरमा कहिल्यै कमी नआएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, “असल व्यक्तित्व, कम बोल्ने तर सबैका कुरा सुन्ने सुवर्णजीलाई मैले पहिलोपटक कलकत्तामा भेटेको हुँ, नेपाल विद्यार्थी सङ्घ स्थापनामा पनि सहयोग गर्नुभयो, प्रजातन्त्रका लागि आफ्नो सबै सम्पत्ति खर्चने उहाँ प्रजातान्त्रिक समाजवादी नेता हुनुहुन्थ्यो ।”
पार्टीको आगामी महाधिवेशन, सञ्चालन र नेतृत्वका विषयमा उठेका प्रश्नमा नेपाली कांग्रेसका सभापति देउवाले युवा पुस्तालाई नेतृत्व लिन हतार नगर्न सुझाव दिँदै पार्टीलाई अन्तरघातविहीन बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरु नआत्तिनुस्, हतार नगर्नुस्, तपाईंहरुको पालो आउँछ, चिन्ता नगर्नुस् ।”
पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेसजनले सुर्वण शम्शेरजस्तै लिन होइन दिन राजनीतिमा लागेको हो भन्ने सन्देश व्यवहारबाटै दिन सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “एकता, समन्वय र समझदारी कायम गर्दै वर्तमान सभापतिकै नेतृत्वमा पार्टीलाई गतिशील तुल्याउँदै बाँकी कार्यभार पूरा गर्न र लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न लाग्नुपर्छ ।”
सो अवसरमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य रमेश लेखक, भीमसेनदास प्रधान, न्हुच्छेनारायण श्रेष्ठ, राधा घलेलगायतले सुवर्ण शम्शेरलगायत पार्टीका सम्मानित नेताका नाममा सडक, अस्पताल र सार्वजनिक भवन निर्माण गर्न सुझाव दिँदै उहाँले प्रजातन्त्र प्राप्तिका लागि पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष धु्रव खड्का र पुस्तकका लेखक रामचन्द्र घिमिरे प्रतिष्ठानले जनहितका लागि गरेका विभिन्न क्रियाकलाप र पुस्तकमा सुवर्ण शम्शेरबारे समेटिका विविध पक्षबारे जानकारी दिनुभयो ।
