इजरेल, १६ साउन । इजरेलले एक ब्रिटिश र अर्का रोमेनियाली नागरिकको ज्यान जानेगरी तेल ट्याङ्करमा भएको आक्रमणमा इरान संलग्न भएको आरोप लगाएको छ ।
लन्डन मुख्यालय रहेको कम्पनी जोडिआक मेरिटाइमले सञ्चालन गरेको एमभी मर्सर स्ट्रीट नामक ट्याङ्कर ओमानको तटीय क्षेत्रबाट अरब सागरतर्फ गइरहेको बेला बिहीबार उक्त घातक घटना भएको थियो ।
इजरेलका पानीजहाज उद्यमी एआल ओफरको उक्त कम्पनीले के भएको हो पत्ता लगाउन काम गरिरहेको जनाएको छ ।
तर इजरेलका विदेशमन्त्री याइर लापिडले इरानी आतङ्कवादलाई आरोप लगाउनुभएको छ ।
इरान इजरेलका लागि मात्रै समस्या होइन, एउटा विज्ञप्तिमार्फत् उहाँले विश्व मौन बस्नुहुँदैन भन्नुहुँदैन ।
इजरेली विदेशमन्त्रीले त्यसको कडा प्रत्युत्तर दिनुपर्ने बताउनुभएको छ । उहाँले आफू ब्रिटिश समकक्षीसँग सम्पर्कमा रहेको भन्दै यो मुद्दा संयुक्त राष्ट्रसङ्घमा पनि प्रवेश गराउने जनाउनुभएको छ ।
तर लाइबेरियाको झण्डासहितको उक्त जापानी स्वामित्वको तेल ट्याङ्करमा भएका हमलाको विस्तृत विवरण अझै आइसकेको छैन।
इरानले आफूमाथिका आरोपबारे प्रतिक्रिया जनाएको छैन ।
एउटा इरानी अरेबिक टेलिभिजन स्टेशनले नाम नखुलेको स्रोतलाई उद्धृत गर्दै उक्त आक्रमण इरानको साझेदार सिरियाको विमानस्थलमा इजरेलले गरेको आक्रमणको प्रतिशोध भएको उल्लेख गरेको छ ।
सो आक्रमण उक्त क्षेत्रमा तनाव वृद्धि गर्ने गम्भीर घटनाका रूपमा देखिन्छ र कतिपय विवरणमा ड्रोनको प्रयोग भएको उल्लेख गरिएको छ ।
यूके सरकारका प्रवक्ताले तत्कालै वास्तविकता पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ ।
एउटा विज्ञप्तिमा ती प्रवक्ताले ज्यान गुमाएका ब्रिटिश नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्दै पानीजहाजलाई अन्तर्राष्ट्रिय कानुनअनुसार निर्बाध आवतजावत गर्न दिइनुपर्ने उल्लेख गरेका छन्।
शुक्रवार निकालिएको विज्ञप्तिमा जोडिआक मेरिटाइमले दुःख प्रकट गर्दै दुई जनाले ज्यान गुमाएको घोषणा गरेको थियो ।
उसले अरू कोही घाइते नभएको पनि उल्लेख गरेको छ ।
उक्त कम्पनीले हाल उक्त पानीजहाज चालकदलका सदस्यको नियन्त्रणमा अघि बढिरहेको भन्दै सुरक्षित स्थानमा त्यसलाई पुर्याउन अमेरिकी जलसेनाको टोलीलाई सहयोग गरिरहेको जनाएको छ ।
यूके म्यारिटाइम ट्रेड अपरेशन्स (यूकेएमटीओ) ले जलसेनाका अधिकारीहरूले ओमानको मसिरा द्वीपनजिकै भएको घटनाको जाँच गरिरहेको उल्लेख गर्दै गठबन्धनका सैनिकहरूले उक्त पानीजहाजलाई सघाइरहेको पुष्टि गरेको छ ।
इरानले संवर्धित युरेनियम उत्पादन सुरु गर्यो
इराक र सिरियामा अमेरिकाको हवाई आक्रमण
अमेरिकी विदेश मन्त्रालयले पछिल्लो घटनाप्रति गम्भीर चिन्ता प्रकट गर्दै नजिकबाट अवस्थालाई नियालिरहेको जनाएको छ ।
उक्त ट्याङ्कर तान्जानियाको दार ए सलामबाट उत्तरी हिन्द महासागर हुँदै संयुक्त अरब एमिरेट्सतर्फ आइरहेको थियो ।
जोडिआक म्यारिटाइमले घटना हुँदाको समयमा त्यसमा कुनै कार्गो नरहेको उल्लेख गरेको छ ।
उक्त क्षेत्रमा विगतमा इजरेली र इरानी स्वामित्वका पानीजहाजमा कैयौँ घटनाहरू भएका विवरण आएका थिए ।
त्यसक्रममा पानी जहाजमा क्षति पुग्ने गरेका भए पनि हाताहात हुने घटना दुर्लभ ठानिन्छ ।बीबीसी
