काठमाडै, १६ असार । हवाई कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थलबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ ।
आवश्यकता अनुसार विमान वा कारको रूप धारण गर्न सक्ने एयरकार बीएमडब्ल्यूको इन्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्छ ।
यसका निर्माता प्राध्यापक स्टेफन क्लेनका अनुसार एयरकार १,००० किलोमिटरसम्म ८,२०० फिटको उचाइमा उड्न सक्छ । यो अहिलेसम्म परीक्षणका लागि हावामा ४० घण्टा उडिसकेको छ ।
कारबाट विमान बन्न यसलाई दुई मिनेट १५ सेकेन्ड समय लाग्छ ।
यसका छोटा पखेटा बन्द भएर कारको दुई तर्फ टाँसिएर रहन सक्छ ।
आमन्त्रित पत्रकारहरूको अगाडि प्राध्यापक क्लेनले विमानस्थलमा यसलाई अवतरण गरेपछि यसलाई धावनमार्गबाट सिधै सडकमा ल्याएर सहरभित्र लग्नुभयो ।
सोमवार बिहान ८० किलोमिटर दूरीको उडानको अनुभवलाई क्लेनले सामान्य र धेरै रमाइलो भन्नभयो ।
हावामा हुँदा यसको गति १७० किलोमिटर प्रतिघण्टा पुगेको थियो ।
कुल २०० किलोग्राम भार बोक्न सक्ने एयरकारमा दुई जना यात्रा गर्न सक्छन् ।
तर परीक्षण चरणमै रहेको ड्रोन ट्याक्सी जस्तो यो सीधा उड्न र बस्न सक्दैन र यसलाई धावनमार्ग चाहिन्छ ।

चलचित्र र कथाहरूमा थुप्रै देखाइने हवाई कारलाई भविष्यको यातायातका रूपमा चित्रण गरिन्छ ।
सन् २०१९ मा मोर्गन स्ट्याने कम्पनीले हवाई कारको बजार सन् २०४० मा १५ खर्ब अमेरिकी डलर बराबरको हुनसक्ने अनुमान गरेको थियो ।
मङ्गलवार एउटा कार्यक्रमका हुन्डाई मोटर्स युरोपका प्रमुख अधिकृत माइकल कोलले हवाई कारको सोच हाम्रो भविष्यको एउटा अंश रहेको बताउनुभएको छ ।
क्लेन भिजनले दुई वर्ष लगाएर २० लाख युरोभन्दा कम खर्चमा एयरकार निर्माण गरेको बताएको छ ।
क्लेन भिजनका एक सल्लाहकार र लगानीकर्ता एन्टोन राजाकले एयरकारले वायुसेवा वा गाडी बिक्रीको सानो बजार मात्रै पाए पनि धेरै सफल हुने बताउनुभयो ।
अमेरिकामा मात्रै ४० हजार विमानको माग छ, उहाँले भन्नुभयो हामीले यसको पाँच प्रतिशत मात्रै हवाई कारमा ल्याउन सक्यौँ भने हाम्रो लागि ठूलो बजार हुनेछ ।
वेस्ट अफ इङ्गल्यान्डमा विमान र हवाई उड्डयन अध्ययनकर्ता डा. स्टेफन राइटले एयरकारलाई सानो निजी विमानको उत्तराधिकारी बतानुभयो ।उहाँको विचारमा अन्य विमानको तुलनामा यी हवाई कारहरू ठूलो आवाज निकाल्ने वा महँगो हुँदैनन् । यो निकै राम्रो देखिन्छ तर यसको सुरक्षा र अन्य विषयमा मसँग सयौँ प्रश्नहरू छन् ।
विमान त जसले पनि बनाउन सक्छ तर उपयोगी त्यो हो जुन यात्रु लिएर बिना दुर्घटना लाखौँ घण्टा चल्न सक्छ । म यो उडानको लागि र बिक्रीका लागि सुरक्षित भएको कागजात हेर्न व्यग्र छु ।बीबीसी
