जाजरकोट, २९ असोज । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बोलेरो जिप आज विहान करिव २ वजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सुर्खेतबाट जुनिचाँदे आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको बोलेरो जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।

दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका–९, कल्ली स्यालाका करिब २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३, स्यालाका दिलबहादुर भण्डारीकी श्रीमती करिब ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

कार्यालयका अनुसार दुर्घटनामा दिलबहादुर भण्डारी, उनका करिब चार वर्षीय छोरा शिशिर भण्डारी र जुनिचाँदे गाउँपालिका–३, स्यालाकी करिब ५० वर्षीया सितला टमटा घाइते भएका छन् ।

घाइते तीनै जनाको अवस्था मध्यम रहेको र उनीहरूलाई उपचारका लागि प्रदेश अस्पताल, सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर