काठमाडौँ, १९ असोज । रुस विरुद्धको युद्धमा जर्मनीले युक्रेनलाई दिने साथ र समर्थनमा कुनै कमी नहुने जर्मन चान्सलर फ्रेडरिच मर्जले बताएका छन् । उनले आइतबार किभ भ्रमणका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग १ अर्ब युरो सहयोग सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौतापछि पत्रकार सम्मेलनमा बोल्दै मर्जले सहयोग रकमको अधिकांश हिस्सा रुसविरुद्धको लडाँइमा खर्च हुने बताए । यसमध्ये ३५ करोड युरो युक्रोनको ऊर्जा क्षेत्र मर्मतमा खर्च हुने उनले बताए । उनले रुसविरुद्धको युद्धमा जर्मनीले युक्रेनलाई सहयोग गरिरहने बताए ।
‘हामीले युक्रेनको भौगोलिक अखण्डतामात्रै जोगाएका छैनौं । यो हाम्रो आफ्नै गहिरो हित र युरोपको सुरक्षासँग जोडिएको सवाल हो,’ र्मजले भने । युक्रेनको प्रजातान्त्रिक प्रणालीलाई प्रभावित बनाउनेगरी रुसले साइबर आक्रमण र गलत सुचना फैलाउने अभियानहरु चलाइरहेको आरोप उनले बताए ।
रुसले हाइब्रिड आक्रमण (साइबर आक्रमण र गलत सुचना) को आरोप आधारहिन रहेको बताएको छ । रुसविरोधी हिस्टेरिया भएकाहरुले यस्तो अफवाह फैलाएको उसको आरोप छ ।
जर्मन अधिकारीहरुका अनुसार मर्जसँग यात्रा गरेका विभिन्न जर्मन कम्पनीका कार्यकारी प्रमुखहरुले युक्रेन सरकार र त्यहाँ कम्पनीहरुसँग झन्डै ६ अर्ब ६० करोड बराबरका सम्झौताहरुमा हस्ताक्षर गरेका छन् । रोयटर्स
