अमेरिका, १४ असार । अमेरिकाले इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीमाथि लक्षित हवाई आक्रमण सुरु गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।
अमेरिकी फौजमाथि विद्रोहीको ड्रोन हमलाको प्रत्युत्तरमा सञ्चालनमा रहेका र हतियार केन्द्रहरूमा हमला गरिएको पेन्टागनको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी सैनिकको रक्षा गर्ने कुरामा राष्ट्रपति बाइडन स्पष्ट छन्, विज्ञप्तिमा भनिएको छ ।
बाइडनले राष्ट्रपति बनेयता इरान समर्थित विद्रोहीमाथि आक्रमण गर्न स्वीकृति दिएको यो दोस्रो पटक हो ।
इरानमा रहेका अमेरिकी सेनामाथि गएका महिनामा केही ड्रोन आक्रमणहरू भएका छन् । इरानले आफ्नो संलग्नता नरहेको बताएको छ ।
आईएस समूहसँग लड्न इराकमा २,५०० जति अमेरिकी सैनिक रहेका छन्।
पेन्टागनका अनुसार सिरियाका दुई र इराकको एक लक्ष्यमा रक्षात्मक हवाई हमला गरिएको हो । ती लक्ष्य इरान समर्थित कैताइब हेज्बुल्लाह र कैताइब सय्यद अलशुहादा विद्रोही समूहले प्रयोग गर्ने स्थान भएको जनाइएको छ ।
सन् २००९ देखि अमेरिकाले कैताइब हेज्बुल्लाहलाई इराकको शान्ति र स्थिरताका लागि खतरा भन्दै आतङ्ककारी समूहको सूचीमा राखेको छ ।
विज्ञप्तिमा अमेरिकाले आफ्नो रक्षाका लागि प्रतिक्रिया जनाएको बताइएको छ ।
अमेरिकाले हमलामा के कति घाइते भए वा मारिए भन्ने बताएको छैन । तर एएफपी समाचार संस्थाले यूकेको सिरिया अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सिरियामा अमेरिकी युद्ध विमानको एउटा आक्रमणमा पाँच विद्रोही मारिएको र अन्य केही घाइते भएको जनाएको छ ।
सिरियाको सरकारी समाचार संस्था सानाले एक बालक मारिएको र कम्तीमा अन्य तीन जना घाइते भएको विवरण प्रकाशित गरेको एएफपीले जनाएको छ ।
अमेरिकी नेतृत्वमा सद्दाम हुसेनलाई निस्तेज पारिएयता इराकको आन्तरिक मामिलामा इरानको प्रभाव बिस्तारै बढिरहेको बताइएको छ ।
यो हमला इरानले अमेरिका सहित अन्य शक्ति राष्ट्रहरूसँग सन् २०१५ को परमाणु सम्झौतालाई पुनर्जीवित गर्न वार्ता गरिरहेको बेला भएको हो । सो सम्झौतामा इरानले केही परमाणु कार्यक्रम रोक्ने र त्यसको बदला इरानमाथि लगाइएका प्रतिबन्ध कम गर्ने बुँदा छन् ।
इजरेलसहित केही देशहरू इरानले परमाणु बम बनाउन प्रयास गरिरहेको दाबी गर्छन् जुन कुरा इरानले अस्वीकार गर्छन् ।
भूतपूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एकतर्फी रूपमा परमाणु सम्झौताबाट हात झिक्दै सन् २०१८ मा इरानमाथि प्रतिबन्ध लगाएका थिए ।बीबीसी
