काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले अघि सार्नुभएको समावेशी समाजवाद, लोकतन्त्र र राष्ट्रिय मेलमिलापको विचार आजको परिवेशमा झनै सान्दर्भिक रहेको वक्ताहरूले बताउनुभएको छ ।

नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले बीपी कोइरालाको ११३औँ जन्मजयन्तीका अवसरमा बुधबार आयोजना गरेको विचार गोष्ठीमा सहभागी वक्ताहरूले बीपीले नेपाली राजनीतिमा लोकतन्त्रसँगै सामाजिक न्याय, आर्थिक विकास र राष्ट्रियताको नयाँ दृष्टिकोण स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउनुभएको उल्लेख गर्नुभयो ।

कार्यक्रमका प्रमुख वक्ता राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले बीपीले समावेशी समाजवादसहितको राज्य सञ्चालनको प्रयोग गर्नुभएको बताउनुभयो । उहाँले बीपीले साम्प्रदायिक राजनीतिलाई पूर्ण रूपमा अस्वीकार गर्दै जातीय विभेदको अन्त्यका लागि निरन्तर आवाज उठाउनुभएको उल्लेख गर्नुभयो ।

बीपीले नेपालमा औद्योगिकीकरण, खुला अर्थव्यवस्था, दिगो विकास तथा अर्थराजनीतिक चिन्तनको सुरुवात गर्नुभएको चर्चा गर्दै डा. पोखरेलले बीपीका विचारलाई वर्तमान आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोडेर अध्ययन गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. केदारनरसिंह केसीले बीपी कोइराला नेपाली राजनीतिका शिखर पुरुष भएको बताउँदै साहित्यिक क्षेत्रमा पनि उहाँको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो । समकालीन राजनीतिमा बीपीका विचार अझ सान्दर्भिक बन्दै गएको उहाँको भनाइ थियो ।

पत्रकार नकुल अर्यालले बीपीमाथि मृत्युदण्डको खतरा उत्पन्न भएको प्रसङ्ग उल्लेख गर्दै लोकतान्त्रिक विचारमा विश्वास गर्ने प्रत्येक व्यक्तिले आफ्नो मूल्य, मान्यता र आदर्शका लागि आवश्यक पर्दा त्याग र बलिदान गर्न सक्नुपर्ने बताउनुभयो ।

पत्रकार रमेश तुफानले बीपीको युवाप्रतिको दृष्टिकोण र वैकल्पिक राजनीतिक चिन्तन अहिलेको राजनीतिक अभ्याससँग जोडिन थालेको बताउनुभयो । उहाँले बीपी राजनीतिसँगै साहित्यका पनि क्रान्तिकारी व्यक्तित्व भएको चर्चा गर्दै साहित्यलाई कुनै सीमाभित्र बाँध्न नहुने बीपीको मान्यता रहेको उल्लेख गर्नुभयो ।

बीपीले उठाउनुभएको प्रश्न–‘मैले गल्ती गरेको भए प्रजातन्त्रमाथि किन प्रहार गरियो ?’ आज पनि राजनीतिक बहसको महत्वपूर्ण विषय बन्न सक्ने उहाँले बताउनुभयो । प्रजातन्त्र र राष्ट्रवादबिच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले प्रजातन्त्र खोस्ने प्रवृत्तिमाथि राष्ट्रघातको प्रश्न उठ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

वरिष्ठ पत्रकार तथा नागरिक अगुवा तारानाथ दाहालले बीपीको निधन भएको चार दशकभन्दा बढी समय बितिसक्दा पनि उहाँका विचारको सान्दर्भिकता कम नभएको बताउनुभयो ।

उहाँले बीपी समाजवादी मात्र नभई ठुलो मानवतावादी व्यक्तित्व भएको उल्लेख गर्दै करिब ७० वर्षअघि व्यक्त गरिएका उहाँका विचार अहिले पनि उत्तिकै प्रासंगिक रहेको बताउनुभयो ।

बीपीले अघि सारेका प्रगतिशील विचार विकसित युरोपेली समाजमा समेत विभिन्न रूपमा प्रयोग भइरहेका उल्लेख गर्दै दाहालले बीपीको विचारलाई समयानुकूल परिस्कृत गर्दै नयाँ पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ पत्रकार हरिहर विरहीले बीपीले जीवनको लामो समय निर्वासन र भारतमा बिताउनुपरेको तथा नेपालमा तुलनात्मक रूपमा छोटो समय मात्र राजनीतिक अवसर पाउनुभएको बताउनुभयो ।

उहाँका अनुसार बीपी करिब ३८ वर्ष भारतमा रहनुभयो भने नेपालमा करिब १० वर्ष मात्र बस्ने अवसर पाउनुभयो । उहाँले सरकारमा करिब एक वर्ष २१३ दिन मात्र नेतृत्व गर्ने अवसर पाउनुभएको थियो ।

विरहीले बीपीलाई नेपालको राजनीतिक ‘आर्किटेक्ट’को संज्ञा दिँदै नेपाली जनतालाई रैतीबाट नागरिक बनाउने लोकतान्त्रिक चेतना निर्माणमा उहाँको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

उहाँ संविधान सभाका लागि निरन्तर संघर्षरत व्यक्तित्व भएको उल्लेख गर्दै संवैधानिक राजतन्त्रसम्बन्धी उहाँको तत्कालीन धारणा पनि लोकतान्त्रिक व्यवस्था बलियो बनाउने उद्देश्यबाट प्रेरित रहेको बताउनुभयो ।

राष्ट्रियता कुनै संस्था वा व्यक्तिमा मात्र सीमित नभई आम नागरिकसँग जोडिएको विषय हो भन्ने बीपीको दृष्टिकोण रहेको उहाँले बताउनुभयो । बीपी गणतन्त्रप्रति समेत प्रतिबद्ध रहेको उल्लेख गर्दै विरहीले देश र जनताको हितलाई केन्द्रमा राखेर मृत्युदण्डको मुद्दासमेत सामना गरिरहँदा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको स्मरण गर्नुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले बीपीका राजनीतिक, सामाजिक, आर्थिक तथा साहित्यिक विचारका विभिन्न आयामबारे चर्चा गर्नुभएको थियो ।

युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, पत्रकार महेश गौतम, दिलिप कार्की लगायतका वक्ताले बीपीको राजनीतिक र साहित्यिक जीवनबारे चर्चा गर्नुभएको थियो  । वक्ताहरूले बीपीको विचारलाई इतिहासको विषयका रूपमा नभई वर्तमान राजनीतिक र सामाजिक रूपान्तरणको आधारका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर