इजरेल, ११ असार । इजरेलमा अध्ययनकर्ताहरूले एक लाख वर्षभन्दा अगाडि जीवित आदिम मानवको अहिलेसम्म अज्ञात एक प्रकार पत्ता लगाएका छन् ।
राम्ला सहरनजिक भेटिएको अवशेष त्यस्तो प्रकारको प्राचीन मानवको अन्तिममध्येका एक व्यक्तिको हुनसक्ने अध्ययनकर्ताहरूको विश्वास छ ।
उत्खनन गरिएका जिवावशेषमा १,२०,००० देखि १,४०,०० वर्षअगाडि जीवित रहेको मानवको खप्परको अंश र चिउँडो छन् ।
यसको विस्तृत विवरण साइन्स जर्नलमा प्रकाशित गरिएको छ ।
अध्ययनकर्ताहरूले सो व्यक्ति युरोपमा नीयान्डर्टालको पुर्खाका रूपमा सयौँ हजार वर्षअगाडि यो भूभागमा छरिएका प्रजातिको सन्तान हुनसक्ने विश्वास गरेका छन् ।
वैज्ञानिकहरूले आदिम मानवको यो नयाँ प्रजातिको वंशलाई नेशर राम्ला होमो प्रकार भनेर नामकरण गरेका छन् ।
तेल अभिभ विश्वविद्यालयकी डा. हिला मेले यो खोजले नीयान्डर्टाल र मानव विकास क्रमसम्बन्धी विवरणलाई नयाँ आकार दिने बताउनुभयो ।
नीयान्डर्टाल विकास क्रमलाई यसअघि युरोपसँग जोडिने गरिएको थियो ।
यो सबै इजरेलमा सुरु भएको थियो। यहाँको स्थानीय समूह नै स्रोत जनसङ्ख्या भएको हामीले सुझाव दिएका छौँ, उहाँले भन्नुभयो ।

राम्ला
नेशर राम्ला मानिसहरूको लहर मध्यपूर्वबाट युरोपतिर सरेका थिए ।
नेशर राम्ला मानवको पहिलो पुस्ता चार लाख वर्ष अगाडि नै मध्यपूर्वमा रहेको अध्ययनकर्ताहरूको विश्वास छ । नयाँ खोजिएको प्रकार र नीयान्डर्टालको अघिल्लो पुस्ताका आदिम मानिसबीच समानता देखिएको उनीहरूले बताएका छन् ।
डा. मेले नेशर राम्लाहरू नीयान्डर्टालको पुर्खा हुनसक्ने बताउनुभयो ।
उहाँले नेशर राम्लाहरू आदिम मानवका अन्य प्रकारसँग सन्तानोत्पादन गर्दै युरोपतिर गएको र अन्य समूहहरू एशियाका भारत र चीनतर्फ गएको हुनसक्ने बताउनुभयो ।

नीयान्डर्टाल
नयाँ खोजिएको प्रकार र नीयान्डर्टालको अघिल्लो पुस्ताका आदिम मानिसबीच समानता देखिएको वैज्ञानिकहरूको दाबी छ ।
यसले एशियाका आदिम मानव र युरोपका नीयान्डर्टालबीचको सम्बन्धमा रहेको खाडल पनि पुर्ने उहाँले बताउनुभयो ।
पूर्वी एशियामा पाइएका केही अवशेषहरू नीयान्डर्टाल र नेशर राम्लासँग केही समानता भएका छन्, प्राध्यापक इजरेल हेर्सकोभिट्जले भन्नुभयो ।
नेशर राम्लाको अवशेष भेटिएको स्थान आदिम मानिसहरू आवतजावत गर्ने स्थान थियो । यो क्षेत्रमा भेटिएका ढुङ्गाका हतियारहरूका कारण यो स्थान उनीहरूले सिकार खेल्ने स्थान हुनसक्ने बताइन्छ ।बीबीसी
