महेन्द्रनगर, ६ असार। महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ ।

“मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो”, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भन्नुभयो, “यो यस वर्षकै उच्च बहाव हो ।”

त्यसैगरी महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ । रु तीन अर्ब ६७ करोडको लागतमा निर्माणाधीन पुलको पहुँचमार्ग भत्काउनुका साथै बाढीले दोधारा चादँनीसित जोड्ने अस्थायी बाटोसमेत अवरुद्ध गराएको छ ।

त्यसैगरी पुलअन्तर्गत महाकालीमा निर्माण गरिएको टापु (आइल्याण्ड)समेत बगाएको पुल निर्माण कम्पनीले जनाएको छ ।

महाकाली नदीले १५ घर डुबानमा

महाकाली नदीको पानीको बहाव बढेसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभर बैदीफाँटाका १५ घर डुबानमा परेका छन् । राति २ः४५ बजे नदीको पानीले बस्ती डुबानमा पारेपछि स्थानीय बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कुतियाकभरबाट उद्धार सामग्रीसहित सशस्त्र प्रहरी नायब निरीक्षक दानबहादुर विष्टको नेतृत्वमा रहेको सात जनाको टोली, दोधारा चाँदनीस्थित बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी नायब निरीक्षक केशव विष्टको नेतृत्वमा रहेको सात जनाको टोली तथा नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका परिवारलाई पशुचौपायासहित सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

उद्धार गरिएका परिवारमा आलोक दमाई, पुरन दमाई, शङ्कर आग्री, चोकवीरे दमाई, जीतबहादुर खड्का, तुलसी सार्की, महावीर सुनार, जीवन सुनार, कर्णबहादुर सुनार, मानवीर सुनार र गगन सुनारलगायतको परिवार छन् । “घर डुबानमा परेको खबर पाउनेबित्तिकै टोलीलाई परिचालन गरी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेका छौँ”, सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले भन्नुभयो, “मानवीय र भौतिक क्षति भएको छैन ।”

महाकाली नदी बाढीको पानीले जोगबुढा नदीको पानी थुनिँदा कुतियाकभरका बस्तीमा पानी छिरेको बताइएको छ । भीमदत्त नगरपालिका–१२ ऐरीमा बाढीले घर डुबानमा परेपछि छ परिवारलाई उद्धार गरी वडा कार्यालयमा राखिएको छ । महाकाली नदीमाथि निर्माण भइरहेको चार लेनको पक्की पुल जोड्ने पहुँचमार्गको २५ मिटर सडक बाढीले कटान गरी बगाएको छ । सोही स्थानबाट नदी बगिरहेको छ ।

पहाडी क्षेत्रमा पानी पर्ने क्रम रोकिएसँगै महाकाली नदीको बहाव अहिले घट्दो क्रममा रहेको छ । बिहान छ बजेको मापनअनुसार पानीको बहाव दुई लाख १६ हजार क्यूसेक रहेको छ । राति २ बजे पानीको बहाव दुई लाख ४६ हजार क्यूसेकसम्म पुगेको थियो ।

महाकाली राजमार्ग पुनः अवरुद्ध

बैतडी ः लगातारको वर्षाले सडकमाथिबाट पहिरो खस्दा महाकाली राजमार्ग पुनः अवरुद्ध भएको छ । राजमार्गको बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।

गए राति १ बजेदेखि राजमार्ग अवरुद्ध भएको त्यहाँबाट से१ख १३३३ एमबुलेन्सका चालक धनेश जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडक माथिबाट पहिरो खसेको छ, राजमार्ग पूर्णरूपमा अवरुद्ध छ ।” राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रु अलपत्र परेका छन् ।

अवरुद्ध राजमार्ग जेसिबीको सहायताले खोल्ने प्रयास भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको जेसिबी लिएर जाँदैछौँ, लगातारको वर्षाले केही समस्या गर्लाजस्तो छ ।” यसअघि शनिबार अपराह्न सुर्नया गाउँपालिका–३ धरमघर नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएकामा बेलुका सञ्चालनमा ल्याइएको थियो । केही दिनदेखिको लगातारको वर्षाले यहाँका राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भइरहेका छन् ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर