काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आइपीओ शुक्रबार (माघ २ गते) देखि सर्वसाधारणका लागि बिक्री खुला गर्दैछ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ जारी गर्न लागेको हो । यो नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो आइपीओ हो । यसले निष्कासन गर्न लागेको कुल सेयरमध्ये ०.२०% अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने ५% ले हुन आउने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
सर्वसाधारण लगानीकर्ताले बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयरका लागि आवेदन दिने सक्नेछन् । बैंकले प्रतिकित्ता १ सय अंकित मूल्यमा आइपीओ जारी गर्न लागेको हो । यस आइपीओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस अवधिमा आइपीओ बिक्री नभएमा माघ १६ गतेसम्म बिक्री खुला हुनेछ । लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरमार्फत अनलाइनबाट पनि सेयर भर्न सकिनेछ । यसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल हो ।
रेटिङ कस्तो ?
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इन्फ्रस्ट्रक्चर बैंकलाई ‘इक्राएनपी आइआर ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा इन्फ्रास्ट्रक्चरलाई मध्यम श्रेणीको सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा जनाउँदछ । यस्तै, यस बैंकको आइपीओलाई पनि औसत भन्दा कम आधार जनाउने “इक्रा एनपी आइपीओ ग्रेड ४ प्लस’ रेटिङ दिइएको छ ।
कति कित्ता भर्ने आइपीओ ? 

पछिल्ला दिनहरुमा आइपीओमा अधिक आकर्षण देखिएको छ । दोस्रो बजार बढ्दै जाँदा प्राथमिक बजार (आइपीओ) मा सोही अनुसार सर्वसाधारण उत्साहित बनेका हुन् । यसबाहेक पछिल्ला आइपीओहरु दोस्रो बजारमा सूचीकृत भएपछि पनि मज्जाले भाउ बढिरहेको छ । सोही कारण पनि धेरैमा आशाको नयाँ सञ्चार देखिएको हो ।

यस कम्पनीको आइपीओमा पनि मोटामोटी १३ लाख जनाले आइपीओ भर्ने अनुमान गर्ने हो भने प्रतिआवेदक करिब ६० कित्ताजति सेयर पर्ने देखिन्छ । यसआधारमा त्यो भन्दा केही बढी आवेदक भए पनि सामान्यतयः ५ हजार वा ५० कित्ताका दरले आवेदन दिएमा सोही अनुपातमा सेयर पर्न सक्ने सम्भावना देखिएको छ । तथापि, यसमा कति आवेदन पर्छ ? अनि आवेदक संख्या कति हुन्छ अहिल्यै अनुमान गरिहाल्नु त्यति उचित भने हुँदैन ।

आगामी आर्थिक वर्षदेखि पुँजी बढाउने योजना, यस्तो छ वित्तीय प्रक्षेपण

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आगामी आर्थिक वर्षदेखि नै पुँजी वृद्धि गर्दै लैजाने योजना बनाएको छ । बैंकको वित्तीय प्रक्षेपण अनुसार आइपीओ बिक्रीपछि चालु आर्थिक वर्षमा चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ । यस्तै, आव २०७८–७९ मा पुँजी बढाएर २१ अर्ब ६० करोड रुपैयाँ पुर्याउने प्रक्षेपण रहेको छ । बैंकले प्रक्षेपण अनुसारको पुँजी पुर्याउन आइपीओ बिक्रीपछि कायम हुने चुक्ता पुँजीमा ८% बोनस सेयर वितरण गरिनेछ ।

यस्तै, आव २०७९–८० मा चुक्ता पुँजी २२ अर्ब ९० करोड रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ । जसका लागि ६.५०% बोनस सेयर दिने योजना रहेको छ । यता, इन्फ्रस्ट्रक्चर बैंकले खुद नाफा पनि निरन्तर वृद्धि हुँदै जाने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा खुद नाफा ७२ करोड ५२ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान रहेको छ ।

आगामी आर्थिक वर्षमा खुद नाफा १ अर्ब ६५ करोड ६७ लाख रुपैयाँ र आव २०७९–८० मा २ अर्ब २ करोड २ लाख रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ । यस्तै, आर्थिक वर्ष २०७९–८० सम्ममा प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८२ पैसा पुग्नेछ । साथै, प्रतिसेयर नेटवर्थ पनि ११२ रुपैयाँ ८० पैसा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर