काठमाडौँ, १८ वैशाख : काठमाडौँ महानगरपालिकाले मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउन, प्राविधिक र प्रशासनिक परामर्श सुरु गरेको छ । नदी किनाराका अव्यवस्थित बस्ती हटाइसकेपछि जग्गा संरक्षणको कार्य अघि बढाएको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । कामपाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदनअनुसार नदीले परिवर्तन गरेको धार फर्काउनका लागि प्राविधिक तथा प्रशासनिक परामर्श थालिएको कार्यवाहक प्रमुख डङ्गोलको भनाइ छ ।
स्वीकृत डिपिआरअनुसार नदी २०२१ सालको नापी नक्साबमोजिम हुनुपर्नेमा नदीले बहावले स्थान परिवर्तन गरेर पश्चिमतर्फ सरेको छ । यसले गर्दा काठमाडौँतर्फको करिब १०० रोपनी जमिन भक्तपुरतर्फ र भक्तपुरतर्फको करिब १५ रोपनी जग्गा काठमाडौँतर्फ सरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र मनोहरा जग्गा एकीकरण आयोजनाका प्रमुख निर्मलराज बरालसँग नदी क्षेत्रको नक्सा अध्ययन गर्दै कार्यवाहक प्रमुख डङ्गोलले, कानुनी तथा प्रशासनिक प्रक्रिया तत्काल पूरा गरेर डिपिआरबमोजिमको बहाव क्षेत्र कायम गराउने काम कामपाको प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।
“नदी किनारामा अव्यवस्थित बस्ती भएका कारण यसअघि सञ्चालन गर्न नसकिएका काम तत्काल अगाडि बढाएर आयोजनालाई चाँडो सम्पन्न गराउनुपर्ने बताइएको छ । यसका लागि लागत अनुमान तयार पार्ने, जनशक्ति परिचालन योजना बनाउने र योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ”, कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “बस्तीबाट आफूलाई भूमिहीन भनेर विवरण टिपाउनुभएका व्यक्तिहरूको उचित व्यवस्थापन, बस्ती खाली गराइएका ठाउँको निर्माणजन्य सामग्रीको व्यवस्थापन र ती स्थानलाई बारबेर गरेर संरक्षण गर्ने कामलाई उच्च प्राथमिकता दिएर अगाडि बढाउनुहोला ।”
मनोहरा जग्गा एकीकरण आयोजनाका प्रमुख निर्मलराज बरालका अनुसार आयोजना क्षेत्रभित्र पर्ने नदीको करिब १.५ किलोमिटर बहाव क्षेत्रमध्ये ५७५ मिटर साविक अवस्थामा छ । बाँकी नदी खण्डमा बहाव परिवर्तन भएको छ । भक्तपुरतर्फ जग्गा सरेको ठाउँमा पक्की घरटहरा तथा अस्थायी संरचना थिए । त्यस स्थानबाट मानवीय बसोबास खाली गराएर संरचना भत्काएपछि रिप्लटिङको प्रक्रिया अगाडि बढाइसकेका छौँ ।”
