काठमाडौँ, २ असार। वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ ।
निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ । उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ ।
आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ । मङ्गलबार साँझ झण्डै सात बजे आयोजना क्षेत्रमा बाढी पसेको थियो । अम्बाथानस्थित ‘हेडवक्र्स’ भन्दा माथि परिरहेको अबिरल वर्षाको कारण बाढी आएको थियो ।
सुनकोशीमा तीन शव फेला
सुनकोशी नदीअन्तर्गत सिन्धुली जिल्लामा तीन शव भेटिएका छन् । आज साँझसम्म पानीको सतहमा तैरँदै गरेका अवस्थामा शव भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका –५ मूलकोट, सुनकोसी –६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका –६ रत्नावतीमा बेवारिसे शव फेला परेका हुन् ।
कानढुङ्ग्री र मूलकोटमा पुरुषको शव भेटिएको र रत्नावतीमा भेटिएको शवको पहिचान हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । सुनकोशीमा देखिएको शव निकाली परीक्षणका लागि सिन्धुलीमाढीतर्फ ल्याइँदै गरेको उहाँले जानकारी दिनुभयो ।
